हिमाली भेगमा हिमपातको सम्भावना, सावधान रहन सुझाव

by समतल अनलाइन

काठमाडौं । देशको उच्च हिमाली भेगमा आज (शनिबार) हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले उच्च हिमाली क्षेत्रका बासिन्दा र सो क्षेत्रको भ्रमणमा रहेकाहरुलाई सावधानी अपनाउन सचेत गराएका छन् ।

आज दिउँसो पश्चिमको उच्च हिमाली तथा राति देशभरकै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार बिहान २४ घण्टे चेतवानी जारी गर्दै महाशाखाले भनेको छ, ‘उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले ती स्थानमा सामान्य सतर्कता अपनाउन अनुरोध छ ।’

महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी भूभाग सामान्यतया सफा छ ।

यसैगरी दिउँसो पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् । उनले भनिन्, ‘पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र पश्चिमकै उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना पनि छ ।’

आज काठमाडौंमा उपत्यकामा पनि आंशिक बदलीको अवस्था छ तर पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । यस्तै आइतबार दिउँसो पनि पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसैगरी सोमबार दिउँसो पनि पहाडी भेगकै एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like