आराम गर्दै प्रधानमन्त्री ओली, सचिवालय बैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् ।

चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन् । त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहे ।

उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन ।

प्रचण्डसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए ।

प्रचण्ड र पोखरेलसँगको कुराकानी पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

पार्टी भित्र लामो समयदेखि पार्टी एकताका काम रोकिइरहेका छन् । त्यस्तै उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने काम पनि बाँकी छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थासहित पार्टीका रोकिएका काम अघि बढाउनेबारे परामर्श गर्न सचिवाय बैठक बोलाएका हुन् । यसअघि प्रचण्डले बिहीबार पनि ओलीसँग अस्पतालमै झण्डै १ घण्टा कुराकानी गरेका थिए ।

त्यसक्रममा ओलीले अलि छिटोछिटो समस्या देखिएकाले अस्पताल आउनुपरेको ओलीले बताएका थिए ।

‘ठ्याक्कै यति दिन भन्ने त छैन, उपचार पद्धति कसरी अघि बढाउने भन्नेबारे डाक्टरहरु छलफलमै छन्,’ प्रधानमन्त्री ओलीको निजि सचिवालयका एक सदस्यले भने ‘अहिले उहाँले सबै भेटघाट रोकेर आराम गरिरहनुभएको छ ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री आराममै रहेको र भेटघाटहरु बन्द गरिएको बताए । प्रधानमन्त्री बालुवाटारमा रहँदा पनि चिकित्सकहरुको निगरानीमा छन् । उनका निजी चिकित्सक दिव्यसिंह शाहले ओलीको प्रत्यक्ष निगरानी गरिरहेकी छन् ।

प्रधानमन्त्री ओलीको रगतको एउटा रिपोर्ट आउन बाँकी छ । त्यो रिपोर्ट आएपछि कुन र कस्तो उपचारको विधि अपनाउने भन्ने तय हुनेछ । ग्रान्डी अस्पतालले बिहिबार प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नु अघि सबै रिपोर्ट हेरेपछि थप उपचारको विधि तय हुने बताएको थियो । बुधबार र बिहीबार ओलीको दुईपटक डायलाइसिस गरिएको थियो ।

गत बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदा रगतमा क्रियाटिनिनको स्तर ५ भन्दा माथि थियो । त्यसैले उनको बुधबार २ घण्टा र बिहिबार ४ घण्टा डायलाइसिस गरिएको थियो ।

स्रोतकाअनुसार ओलीको अर्को डायलाइसिस आइतबार गर्ने तयारी थियो । तर स्रोतका अनुसार ओली शनिबारै अर्को डाइलाइसिसका लागि ग्रान्डी अस्पताल जाने सम्भावना छ । ‘रगतमा क्रियाटिनिनको स्तर बढ्दा डायलाइसिस गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीका लागि अब नियमित रुपमा मिर्गौलाको डायलाइसिस वा अर्को मिर्गौला प्रत्यारोपणको विकल्प छ । एकपटक प्रत्यारोपण गरिसकेको मिर्गौलाले काम गर्न छोडेकोले अब चिकित्सकहरुले अब नयाँ प्रत्यारोपण भन्दा नियमित डायलाइसिसको विकल्प प्रयोग गरिरहेका छन् ।

 
 
  
 

You may also like