गृहमन्त्री खाँणको प्रस्ताव : वैवाहिक अंगीकृतमा सहमति जुटेन, अहिले यतिकै पारित गरौं

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री खाँणले राजनीतिक सहमति नजुटेका कारण नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतका विषयमा नयाँ व्यवस्था गर्न नसकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अहिले विधेयक पास गर्नुको मुख्य उद्देश्य जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनु नै भएको बताए । आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले विधेयकको मुल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरूले नै नागरिकता पाउने गरेर विधेयक ल्याएको बताए । उनले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताए ।

गृहमन्त्री खाँणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतका लागि सबैले सहमति गरेर नागरिकताविहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताए । उनले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

गृहमन्त्री खाँणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए ।

 
 
  
 

You may also like