पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ । ८४ वर्षीय गुरुङको काठमाडौंको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) दिउँसो निधन भएको हो ।

उनी १८ महिनादेखि बाथ र सुगरले थलिएको कांग्रेस ताप्लेजुङका सभापति डम्बर तुम्याहाङले जानकारी दिए । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुई छोरा विदेशमा रहेकाले पूर्वमन्त्री गुरुङको शव केही दिन अस्पतालमै राखिने भएको छ । उनका श्रीमती र दुई छोरी छन् ।

उनको पुख्र्यौली घर ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–६ छ । उनी २०७३ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र स्थानीय विकासमन्त्री भएका थिए । उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत हुन् । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा गुरुङले ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए ।

क्रान्तिकै क्रममा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरेका थिए । कारागारका कैदीबन्दीहरूलाई भगाएका थिए । त्यसपछि उनी लामो समय भारत निर्वासित भएको र २०३६ सालमा आममाफी पाएपछि नेपाल फर्किएका थि ए। त्यहीबेला उनी केही समय पञ्चायतमा लागे ।

२०४६ सालसम्म जिल्ला पञ्चायतको सभापति भए । तर, २०४६ सालको आन्दोलन सफल भएपछि भने कांग्रेसमै फर्किएका थिए । उनले पहिलो पटक २०५१ सालमा ताप्लेजुङका निर्वाचन क्षेत्र २ बाट चुनाव लडेका थिए । एमालेका अम्बिकाप्रसाद साँवासँग पराजित भए । २०५६ सालमा क्षेत्र नम्बर १ बाट उम्मेवदार बने । त्यसबेला एमालेका तिलकुमार मेन्याङबोसँग पराजित भए ।

चुनाव लडेको डेढ दशकपछि २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनले माओवादीका राम कार्कीलाई पराजित गरे । २०७० मा भएको दोस्रो संविधानसभामा उनी कांग्रेसबाट समानुुपातिक सभासद बने । त्यहीबेला उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र पछि स्थानीय विकासमन्त्री भएका थिए । उनलाई २०१८ मा पक्राउ गरी पञ्चायती प्रहरीले धनकुटा जेलमा राखेका लेखक धर्मेन्द्र नेम्वाङले जानकारी दिए ।

 
 
  
 

You may also like