अस्ट्रेलियाका पत्रिकाले गरे ‘ब्ल्याकआउट’

by समतल अनलाइन

प्रेसमाथि प्रतिबन्ध विरुद्ध अस्ट्रेलियाका ठूला पत्रिकाहरुले एक भएका छन् । अस्ट्रेलियाका प्रमुख पत्रिकाहरुले सोमबारको संस्करणमा प्रेसमाथिको प्रतिबन्ध विरुद्ध ऐक्यवद्धता स्वरुप पहिलो पृष्ठमा ‘ब्ल्याकआउट’ गरेका छन् ।

पत्रिकाहरुले पहिलो पृष्ठमा आफ्नो नाम तथा मिति बाहरे अरु कालो पोतेका हुन् । त्यसमाथि रातो मसीमा ‘सिक्रेट’ लेखिएको स्ट्याम लगाएका छन् । पत्रिकाहरुले अस्ट्रेलियाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानूनले प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै ‘ब्ल्याकआउट’ गरेका हुन् ।

पत्रकारहरुका अनुसार राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ कानूनले अस्ट्रेलियामा अपारदर्शीताको नयाँ संस्कृति सुरु गरेको छ । सरकारले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएको छ । तर कोही पनि कानून भन्दा माथि नहुने पनि उल्लेख गरेको छ ।

गएको जुनमा प्रहरीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबिसी) र न्यूज कर्प अस्ट्रेलियामा छापा मारेको थियो । त्यसपछि पत्रकारहरुले त्यसको तीव्र आलोचना गरेका थिए ।

सोमबार प्रकाशित अधिकांश पत्रिकाहरुले पहिलो पृष्ठमा कालो पोतेका छन् । उनीहरुको यो विरोधमा धेरै टेलिभिजन तथा रेडियो स्टेसन र अनलाईन सञ्चारमाध्यमले पनि साथ दिएका छन् ।

 
 
  
 

You may also like