तालमेलको गृहकार्यमा सत्ता गठबन्धन

काठमाडौं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका हुन् ।

चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ्ने समझदारी गरेको छ। शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा औपचारिक निणर्य गरेसँगै संयन्त्र निर्माण गरेर अघि बढ्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

स्थानीय तहको निर्वाचन तालमेलसहितका विषयमा निणर्य गर्न कांग्रेसले शुक्रबार बैठक बोलाएको छ । संस्थापन इतरका केही नेता भने अन्य दलसँग मिलेर नभई एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर सभापति देउवासहित संस्थापन पक्ष सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर जानुपर्ने पक्षमा छ । संस्थापन पक्ष ६ वटा महानगरपालिकामा तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएको छ ।

त्यसका अतिरिक्त ११ उपमहानगरपालिकामा पनि आवश्यक परे भागबन्डा गरेर जान कांग्रेस सहमत हुने निकट स्रोतको दाबी छ । केन्द्रबाट नै सबै स्थानीय तहमा तालमेल गर्न नसकिने पक्षमा रहेको कांग्रेस बाँकीमा चुनावी तालमेलको अधिकार सम्बन्धित तहका पार्टी संगठनलाई दिनुपर्ने पक्षमा छ ।

केन्द्रीय समिति बैठकले पनि सोही अनुसार निणर्य लिने दाबी गर्दै एक पदाधिकारीले भने, ‘महानगरबाहेक अन्य स्थानीय तहमा केन्द्रलाई टिकट वितरण गर्ने अधिकार नभएकाले तालमेलको अधिकार सम्बन्धित तहलाई नै दिनुपर्छ । त्यसले नसके मात्र केन्द्रले निणर्य गर्ने हो ।’ ग्रेस ६ मध्ये दुई महानगरपालिका गठबन्धनका दलहरूलाई छाडेर चुनावी प्रतिस्पर्धाको पक्षमा रहेको स्रोतको दाबी छ । तर यस पटक भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्न नसकिने कांग्रेसका एक पदाधिकारीले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल गठबन्धन कायम राख्न चाहन्छन् भने भरतपुरको दाबी छाड्नुपर्ने बताउँदै ती पदाधिकारीले थपे, ‘भरतपुर अहिले पनि माओवादीलाई छाड्ने हो भने कांग्रेसमा ठूलो विद्रोह हुनेवाला छ । त्यसले प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धनलाई अघि बढाउने कुरामा समस्या उत्पन्न हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको नेतृत्व कांग्रेसलाई छाडेर प्रतिनिधिसभा निर्वाचनमा दाहाललाई समर्थन गरेर जानसकिने ती नेताको बुझाइ छ । ‘महानगरपालिका छाडेर अन्य नगरपालिका लिएर जान माओवादी तयार भयो भने तीनै तहको निर्वाचनसम्म चुनावी तालमेल टिक्छ नत्र गाह्रो छ,’ उनले थपे ।

माओवादी केन्द्र भने २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जुन दलले जितेको छ, आगामी चुनावमा पनि उसैलाई नेतृत्व दिनुपर्ने प्रस्ताव गर्दै आएको छ । एमालेसहित गठबन्धनबाहिर रहेका दलहरूले जितेका स्थानीय तहमा भने दलीय प्रभावका आधारमा भागबन्डा गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । तर कांग्रेस त्यसका लागि तयार देखिएको छैन ।

नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा दुईमध्ये एक महानगरपालिका आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेस वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई र अर्को एउटा माओवादीलाई छाडेर चार महानगरपालिका आफूसँग राखेर चुनावी तालमेलको पक्षमा छ । नेकपा एकीकृत समाजवादीले एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, तेस्रोले वडाध्यक्ष, अर्कोले सदस्य लिएर गठबन्धन गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like