भ्रष्टाचार आफू गर्छन्, दोष दायाँ-बायाँ नगर्ने एमालेलाई लगाउँछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् ।

आज (मंङ्गलबार) काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेसका नेताहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले मधेसको विकासका लागि गरेका र अघि सारेका योजनाहरू सुनाए ।

ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोशी मरिन डाइभर्सनको शुरुवात र फुसका छाना हटाउने अभियानको शुरुवात आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।

ओलीले भने, ‘यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नु भएको छ, ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।

अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।

ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले आफूहरुको पार्टी दिनदिनै बढिरहेको बताएका छन्।

अभिनेत्री करिश्मा मानन्धर, पूर्वमन्त्री प्रेमबहादुर सिंह र माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन मंगलबार आयोजित कार्यक्रममा ओलीले भने, ‘अहिले एमालेका नौ लाख कार्यकर्ता छन् । यति धेरै साथीहरु अटाएका छन् । एमालेको संख्या बढेको बढ्यै छ’, उनले थपे, ‘एमाले दिनदिनै बढिरहेको छ । सबै साथीहरुलाई यसमा अटाएर लैजान्छौं ।’

उनले एमाले नचाहिँदो काम नगर्ने पनि बताए । ‘वाइड बडी खरिद गर्दा भ्रष्टाचार अरु गर्छन् अनि दोष एमालेलाई लाउँछन्’, उनले भने, ‘हामी दायाँ-बायाँ गर्दैनौं । देशको समृद्धि र जनतालाई सुखी राख्ने काममा लागेका छौं ।’

एमालेको सरकार आएपछि विकासको प्रतिफल सबैलाई बराबरी दिने पनि उनले बताए । ‘विकासको प्रतिफल सबैलाई बराबरी हुनुपर्छ, कोही भोकै नाङ्गै हुनुहुँदैन’, उनले भने, ‘आगामी निर्वाचनमा हामीले बहुमत ल्याउनै पर्छ । बहुमत ल्याएपछि हामी नेपाललाई सुन्दर बनाउँछौं, कसैलाई भोकै छाड्दैनौं ।’

 
 
  
 

You may also like