अफगानिस्तानको एक मस्दिजमा भएको विस्फोटमा २८ को मृत्यु

by समतल अनलाइन

जलालावाद । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिदमा भएका भक्तजन रहेको र अरु पनि कैयौँ घाइते भएको अधिकारीहरूले जनाएका छन् । मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटको यो ठूलो घटना हो । प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले बताए । उनले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिए ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् ।

 
 
  
 

You may also like