रुपन्देहीको गैडहवा गाउँपालिका फुसको छानो मुक्त हुँदै

by समतल अनलाइन

सैनामैना। रुपन्देहीको गैडहवा गाउँपालिकाले फुसको छानो मुक्त गाउँपालिका बनाउँने भएको छ । गाउँपालिकामा आगलागिका घटना बृद्धि भएपछि फुसको छानो भएका घरलाई जस्ताको पाता प्रदान गर्ने तयारी गरेको हो । यो आर्थिक वर्षबाट गाउँपालिकाका प्रत्येक वडाका २० वटा फुुसको छानो भएका घरलाई जस्ताको पाता वितरण गरिने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिनुभयो । गाउँपालिकामा ९ वटा वडा रहेका छन ।
अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा शुक्रबार गैडहवा गाउँपालिकाको आयोजना तथा विकास तथा प्रकोप ब्यवस्थापन केन्द्र नेपालको सहयोगमा सूर्यपुरामा सञ्चालन गरिएको कार्यक्रममा बोल्दै उँहाले गाउँपालिकामा आगलागिको जोखिम बढ्दै गएको र न्यूनिकरणको लागि गाउँपालिकाले फुसको छाना मुक्त अभियान सञ्चालन गरेको बताउँनु भएको छ ।

आगलागि नियन्त्रणको लागि अहिले ४ पालिकाको समन्वयनमा दमकल सेवा सञ्चालनमा आएको अध्यक्ष केबटले जानकारी दिनुभयो । दैविक प्रकोपमा परेका स्थानीयलाई गाउँपालिकाले आर्थिक सहयोग समेत गर्दै आएको उँहाले बताउँनुभयो ।

गैडहवा गाउँपालिकामा नदि कटानको पनि उस्तै समस्या रहेको छ । नदि कटान नियन्त्रणको लागि गाउँपालिकाले प्रत्येक वर्ष ५० लाख बजेट विनियोजन गर्दै आएको केबटको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले प्रकोप तथा नियन्त्रणको लागि विपद र विकासको योजना बनाउँन आवश्यकता रहेको बताउँनु भएको छ ।

गाउँपालिकाले विपद ब्यवस्थापनको लागि प्रहरी र स्थानीयको सहयोगमा काम गर्दैै आएको जानकारी दिनुभयो । सामुदायिक विपद ब्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगनाथ कुर्मीले विपदमा परेको बेला जोगाउन र पिडा कम गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । सरकारले विपदमा परेकालाई राहात दिने र यसको जनचेतना नपुगेकाले सबैले पाउन नसकेकोमा गुनाशो पोख्नु भयो ।

नेकपा गैडहवा गाउँपालिकाका अध्यक्ष दुर्गा प्रसाद आर्चायले गाउँपालिकामा आगलागिका घटना र नदि कटान नियन्त्रणको लागि स्थानीय प्रदेश सरकारले विशेष चासो दिनु पर्ने बताउँनुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष भुवन राना मगर , जिल्ला समन्वयन समितिका सदस्य ज्ञानु विक, विकास तथा प्रकोप ब्यवस्थापन केन्द्र नेपालका स्मृति पाठक लगायतले कार्यक्रममा बोलेका थिए ।

 
 
  
 

You may also like