आदर वा इज्जत पाउँनका लागि अरुसँग कुन तरिकाले कुरा गर्ने ? १४ तरिकाहरु

by समतल अनलाइन

उहिलै नेपोलियनको समयको कुरा हो । एक पटक एकजना चित्रकार सम्राट नेपोलियनकोमा गएछन् । दरवारमा सबैका लागि भोजको आयोजना गरिएको थियो । भोजमा खाने मात्र होइन, स्वयम् सम्राट नेपोलियनसँग भलाकुसारी पनि गर्न पाइने अवसर राखिएको थियो । त्यसको फाइदा उठाउँदै ति चित्रकार सम्राट नेपोलियनकोमा गएका थिए ।

तर गाउँमा जन्मे हुर्केका चित्रकारसँग राम्रा लुगा कपडाहरु थिएनन् । उनी व्यक्तिगतरुपमा पनि त्यति सफा देखिदैनन् थिए । फोहोरी र राम्रा कपडा नलगाएका चित्रकारलाई नेपोलियनले त के, अरु पाहुनाहरुले यादसम्म गरेनन् । चित्रकार केहि समय एउटा कुनामा बसेर भोजको वातावरण र सम्राट नेपोलियनलाई हेरिरहे ।

केहि समयमा नेपोलियनसँग उनको भेट भयो । चित्रकारले आफ्नो ज्ञान र कलाका बारेमा सम्राट नेपोलियनलाई बताए । चित्रकारले आफुले छानेर ल्याएका आफ्ना केहि कलाकृति पनि सम्राटलाई देखाए । उनको कुरा उत्सुकतापुर्वक सुनेर नेपोलियन अरु पाहुनातर्फ मोडिए ।

भोज सकियो । चित्रकार हिड्न लागेका थिए तर उनको अगाडी नेपोलियन आइपुगे । उनलाई ससम्मान छोड्न भोज भइरहेको कोठाको ढोकासम्म नै पुगे । त्यो सबै देखिरहेका एकजना मन्त्री छक्क पर्दै सम्राटलाई सोधे, “अघि आउँदा तपाईले ति मान्छेलाई यादै गर्नु भएन तर अहिले छोड्न दैलोसम्म नै पुग्नु भयो । किन सम्राट ?”

 

“आउँने बेला जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक, पद वा वैभव देखेर गरिन्छ तर जाने बेलामा जुन आदर गरिन्छ, त्यो उसको गुण देखेर गरिन्छ ।” नेपोलियनले मुस्कुराउँदै भने, “मैले पनि उनीसँग बोलिसके पछि उनको गुण थाहा पाएँ ।”

सम्राट नेपोलियनको परख र ज्ञान सुनेर मन्त्री दंग परे ।

यहाँ म पोशाक, पद वा वैभवको कारण प्राप्त हुने ‘आउँने बेलाको’ आदर वा इज्जत पाउँन के के गर्ने भन्ने बारेमा लेख्न लागिरहेको होइन । म यहाँ मानिसमा हुनु पर्ने त्यस्ता गुणहरुका बारेमा लेख्न लागिरहेको छु, जसले जाने बेलामा अरुले आदर वा इज्जत दिउन् । यी तरिकाहरु त्यस्ता अफ्ठ्यारा पनि छैनन् । विश्वास छ, यो लेख पढेर तपाईले ति तरिकाहरु आफ्नो जीवनमा प्रयोग गर्नुहुनेछ । त्यस्तै, यो लेख सेयर गरेर धेरै भन्दा धेरैसम्म यो जानकारी फैलाउँनु हुनेछ ।

१. सुन्ने

एउटा भनाई छ – संसारमा सबै भन्दा गाह्रो उठेर बोल्न र बसेर सुन्न हुन्छ । पक्कै पनि हामी धेरैले अनुभव गरेको कुरा हुनु पर्छ । हामी आममानिसहरुमा उठेर बोल्ने गुण हुदैन । यो फरक विशेषता भयो । उठेर बोल्नका लागि बानी हुनु पर्छ, तालिम चाहिएला तर बसेर सुन्नमा के गाह्रो हुन्छ र ? बसेर सुन्नलाई के तालिम लिनु पर्छ र ? पक्कै पनि केहि पर्दैन ।

बिना तालिम र बिना परिश्रम पाउँन सक्ने यो गुण नभएका कारण हामीले आदर वा सम्मान पाउँनबाट बञ्चित भइराखेका हुन्छौँ । धेरै बोल्नु वा आफ्ना कुरामात्रै राख्नु राम्रो बानी होइन । अरुका कुरा ध्यान दिएर सुन्ने गरेमा कुरा सुनाउँनेको मनमा तपाई प्रति राम्रो धारणा बन्छ ।

२. व्यक्तिलाई महत्व दिने

कसैसँग कुरा गर्दा जोसँग कुरा गरिएको छ, सोही व्यक्तिलाई ध्यान दिने गर्दा मानिसहरुले तपाईलाई राम्रो मान्छन् । कोहीसँग बोलिरहदा अन्तै ध्यान दिने, अरु तिर हेर्ने, घोप्टिएर मोबाइलको स्क्रिन स्क्रोल गर्न थाल्ने जस्ता कुराहरुले बोल्दै गरेको व्यक्तिलाई महत्व नदिए जस्तो हुन्छ । यसले गर्दा उसको मनमा तपाईप्रति आदरभाव घट्छ ।

२.वाक्य विन्यास

बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु भन्ने उखानसँग मिल्ने कुरा हो यो । बोल्नु अगाडी सम्बन्ध अनुसार कतिको औपचारिक हुने भन्ने तय गर्नु पर्छ । ठाडो भाषामा बोल्दा धेरै ठाउँमा आफ्नो वजन घट्न पुग्छ ।

जस्तै कुनै भोजमा हुनुहुन्छ । यस्तोमा ‘पेट पुटुस्स हुने गरि हानियो नि’ भन्नु भन्दा ‘मिठो रहेछ, अलिक बढि नै लिएँ’ भन्दा ठिक हुन्छ । परिस्थिती, व्यक्ति वा समय अनुसार आफ्नो वाक्य विन्यास कस्तो हुनु पर्छ भन्ने हेक्का हुनु पर्छ । यसो भयो भने मानिसहरु तपाईसँग बोल्नु पर्ला कि भनेर तर्किदैनन् ।

३. तेस्रो मान्छेको प्रयोग

खास गरि आफु भन्दा उपल्लो तहका मानिसहरुका सामुन्ने उनीहरुको तारिफ गरियो भने चाप्लुसी गरिएको भान पर्न सक्छ । यस्तोमा सोझै तारिफ गरिरहनु पनि राम्रो होइन । त्यस्तै अरु सबै मानिसहरुसँग कुराकानी हुँदा उनीहरुका अगाडी उनीहरुको काम वा व्यक्तित्वको आवश्यक प्रशंसा गर्दा उनीहरुको आदर जित्न सकिन्छ ।

यसका अतिरिक्त उनीहरुको अनुपस्थितीमा तेस्रो मान्छेसँग उनीहरुको प्रशंसा गरिदिने हो र यो खबर प्रंशसा गरिएको मानिससम्म पुग्ने हो भने तपाईप्रतिको सम्मानभावको रेखाचित्र आकासिन्छ । पछाडी कुरा काट्नुको साटो तारिफ गर्ने मानिसहरु कमै हुन्छन् । यस्तो व्यवहार जसले सुने पनि मन पराउँछन् । सम्मान गर्छन् ।

४. विनम्रता

सकेसम्म विनम्र हुनुहोस् तर चाप्लुसी नगर्नुहोस् ।

५. इज्जत पाउँने हाउभाउ

हाउभाउ पनि इज्जत वा आदर पाउँन लायक बनाउँनु पर्छ । विचार गर्नुहोस् त, सार्वजनिक स्थानमा बसेको छ तर जिउका अनेक ठाउँ तिर कन्याएको छ वा नाक भित्र औँला हालेर सिंगानका पाप्रा निकाल्दै फ्याल्दै गरेको छ, यस्तो व्यक्तित्व भएको मानिसलाई आदर गर्नु पर्यो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै पनि ठिक लाग्दैन ।

यसैले कसैको आदर वा इज्जत पाउँनु छ भने यस्ता अशोभनिय हर्कतहरु गर्नु हुदैन ।

६. असाध्यै राम्रो हुन बन्द गर्नुहोस्

विनम्र वा राम्रो मान्छे हुने लहडमा अस्वभाविक राम्रो मान्छे हुनु पनि ठिक हुदैन । व्यवहारिक नभएर आदर्शवादी हुदै राम्रो देखिन खोज्नु प्रत्युतपादक हुन सक्छ । सकेसम्म व्यवहारिक हुनु पर्छ । आवश्यकता अनुसार रुखो हुन पनि जान्नु पर्छ ।

७. कुरा नकाट्नुहोस्

कसैको कुरा काट्दै नकाट्नुहोस् । अरुको कुरा काट्दा कुरा काटिने मान्छेले थाहा पायो भने इज्जत गुम्ने मात्र होइन, झगडै पर्ने सम्भावना पनि हुन्छ । यस्तै, जोसँग कोही अर्को मान्छेको कुरा काट्नु हुन्छ, त्यो सुन्ने मान्छेको नजरमा पनि तपाईको इज्जत रहदैन ।

मानिसले सोच्छन्, मेरो अगाडी अरुको कुरा काट्नेले अरुको अगाडी मेरो पनि त कुरा काट्ला, यस्तो मानिससँग बच्नु पर्छ ।

८. खुल्ला सोच राख्नुहोस्

पुरातनवादी भएर नबस्नुहोस् । संसारमा परिवर्तन नहुने कुरा केहि पनि छैन । अनि, लोकतान्त्रिक हुनुहोस् । सबैको विचारको सम्मान गर्नुहोस् । अरुको विचारको सम्मान गर्न सक्ने गरि खुला सोच बनाउँनु भयो भने मानिसहरुले पनि तपाईको विचारको सम्मान र तपाईको आदर गर्न थाल्छन् ।

९. आफ्नो काम गर्नुहोस्

आफ्नो काममा बढि ध्यान दिनुहोस् । अरुको काममा अनावश्यक चासो नलिनुहोस् तर यदि कसैले आफ्नो काम वा घटनाका बारेमा तपाईसँग कुरा गर्न चाहन्छ भने त्यसमा उत्सुक हुनुहोस् । उनीहरुको कुरा सुन्नुहोस् ।

अर्काको कुरा सुन्ने बारेमा मैले तरिका नम्बर १ मा लेखिसकेको छु ।

१०. हुन्न भन्न सिक्नुहोस्

राम्रो हुनका लागि जो सुकैको जे सुकै कुरामा हुन्छ भन्ने बानी छोड्नुहोस् । कहिलेकाँही हुन्न भन्न पनि जान्नु पर्छ । आफुले नसक्ने कुरा अथवा गर्न नहुने कुरालाई प्रस्टसँग हुन्न भन्न सक्ने मानिसलाई अरुले मन पराउँछन् । बोलीको पक्का ठान्छन् ।

यदि आफुले गर्न नसक्ने वा गर्न नहुने कामलाई हुन्छ भन्नु भयो र गर्न सक्नु भएन अथवा गर्दा अफ्ठ्यारो हुने अवस्था भयो भने मानिसहरुको नजरमा तपाईको आदर गुम्छ ।

११. अपमान भए बोल्नुहोस्

आफ्नो अपमान भइरहेको छ भने त्यसको विरुद्धमा बोल्न नहिच्किचाउँनुहोस् । यसले तपाईको आफ्नो मर्यादा र इज्जत बचाइराख्छ । आवश्यकता भन्दा लचिलो हुँदा आफ्नो इज्जत रहदैन तर इज्जत पाउँने होडमा नचाहिदो कुरामा अपमान भएको नठान्नुहोस् । आफुलाई अरु भन्दा फरक किसिमले व्यवहार नगर्दैमा अपमान भएको सोच्नु चै गलत हुन सक्छ ।

१२. अरुका लागि बोल्नुहोस्

अरुका लागि बोलिदिने मानिसहरु नै समाजमा इज्जतदार छन् । अरुको अफ्ठ्यारो वा अरुलाई आवश्यक पर्दा बोलिदिनु भयो भने जसको बिषयमा बोलिदिनु भएको हो उसको नजरमा तपाईको इज्जत बढ्छ । यसका अतिरिक्त अरु मानिसले पनि तपाईको बहादुरी र न्यायप्रियताको कदर गर्छन् ।

तर, सत्य पुरा नबुझी वा कुनै पक्षपोषक भइ बोल्नु भने खराब हुन सक्छ । आफुले बोलेको कुरा केवल निकटता वा कुनै पुर्वाग्रहका कारण नहोस् भन्ने कुरामा भने हेक्का राख्नु पर्छ ।

१३. आवेग रोक्नुहोस्

इज्जतदार मान्छे त्यो हो, जो दुखमा आत्तिदैन र सुखमा मात्तिदैन । अर्थात, अवस्था फरक परे पनि मानिसको स्वभाव समान हुनु पर्छ । यस्तो शान्त स्वभावको मानिसलाई सबैले मन पराउँछन् । कुनै कुराबाट आवेगमा आइ तत्काल प्रतिक्रिया दिने गर्नु हुदैन । झट्ट सुन्दा गलत लागेका कुराहरुको बारेमा राम्ररी बुझे पछि ति कुराको बारेमा आफ्नो सोचाइ चै गलत भएको थाहा पाउँन पनि सकिन्छ ।

आफ्नो आवेगलाई रोक्नुहोस् । पुरा कुरा थाहा पाउँन धैर्य गर्नुहोस् । तत्काल प्रतिक्रिया दिदै नदिनुहोस् । संसारमा सबै कुरामा प्रतिक्रिया दिनै पर्छ भन्ने हुन्न ।

१४. इज्जत दिनुहोस्

अन्तिम तरिकामा लेखिएको भए पनि यो अरु भन्दा कम महत्वपुर्ण तरिका होइन । तपाईले कसैबाट इज्जत चाहनु हुन्छ भने पहिलो शर्त हो, उसको पनि इज्जत गर्नु । तपाई जति अरुलाई इज्जत गर्नुहुन्छ, मानिसहरुले तपाईलाई उति नैतिक वा असल मानिसका रुपमा बुझ्छन् र फिर्तामा तपाईलाई इज्जत नै दिन्छन् ।

यी भए अरुबाट इज्जत पाउँन गर्नु पर्ने १४ वटा तरिकाहरु । यसका अतिरिक्त अरु तरिकाहरु पनि हुन्छन् । हामीले ति तरिकाहरुमा पनि ध्यान दिनु पर्छ । र मुख्य कुरा, यी कुनै पनि तरिकाहरु बनावटी हुनु हुदैन । विस्तारै आफ्नो स्वभाव यीनै तरिकाहरुबाट चल्ने बनाउँन सके राम्रो हुन्छ ।

 
 
  
 

You may also like