लक्ष्यप्राप्तिका लागि केहि सुत्र

by समतल अनलाइन

लिथुआनियाकी ज्याभलिन थ्रोअर इन्गा स्टासियुलिओनिटीले आफ्नो २२ वर्षभन्दा लामो खेलाडी जीवनका दौरान ओलम्पिक तथा विश्व च्याम्पियनसिपसहित थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरिन् । दुई दशक लामो खेलाडी जीवनमा विश्वका उत्कृष्ट प्रशिक्षकको रोहवरमा रहेर अभ्यास गरेकी इन्गाले सन् २०१६ यता मोटिभेसनल साइकोलोजीका विषयमा प्रशिक्षण दिनका लागि ‘अन्बोट्रेनिङ’ नाम अनलाइन कम्पनी खोलेकी छिन् ।

जीवनमा चाहेको लक्ष्य कसरी हासिल गर्ने ? यस विषयमा इन्गाले दिएका १० टिप्स यस्ता छन्

१. आफ्ना प्रतिबद्धतामा फोकस हुनुहोस्

तपाईं आफ्नो लक्ष्यप्राप्तिमा कत्तिको प्रतिबद्ध हुनुहुन्छ ? आफ्नो लक्ष्य तपाईंका लागि कति महत्वपूर्ण छ र त्यो हासिल गर्नका लागि तपाईं के–के त्याग्न तयार हुनुहुन्छ ? यस विषयमा प्रतिबद्ध भएर सोच्नुहोस् । तपाईंलाई आफैँ उत्प्रेरणा प्राप्त हुनेछ ।

२. ज्ञान खोज्नुहोस्

यदि तपाईंले अनुसन्धान, सुधार, विस्तार र प्रयोगमा ध्यान दिनुभयो भने तपाईंको ऊर्जाशक्ति सधैँ उच्च हुनेछ । तर, यदि तपाईंले नतिजामा मात्रै ध्यान दिनुभयो भने तपाईंको ऊर्जा मौसमजस्तै हुनेछ, अर्थात् बतास चलेका वेला त्यो उड्न सक्छ । त्यसैले महत्वपूर्ण कुरा यात्रामा केन्द्रित हुने हो, गन्तव्यमा होइन । तपाईंले के सिक्दै हुनुहुन्छ र के कुरा सुधार गर्न सक्नुहुन्छ भन्ने सोच्नुहोस् ।

३. यात्रालाई रमाइलो बनाउनुहोस्

यो रमाइलो यात्रा हो । यसको भरपुर मनोरञ्जन लिनुहोस् । तपाईं गम्भीर बनेको खण्डमा वा ठूलो मौका सोचेर अघि बढेको खण्डमा तपाईंको काँधमा दबाबको भारी धेरै पर्नेछ । नतिजा, तपाईंको आफ्नै दृष्टिकोणले तपाईंलाई गाह्रो पार्न सक्छ ।

४. परिवर्तनशील हुनुहोस्

तपाईंको दिमागमा सधैँ धेरै सोच हुन्छन् र के कुरामा ध्यान दिने भनेर सधैँ चयन गर्न सक्नुहुन्छ । दुविधामा पार्ने, डर सिर्जना गर्ने र भावनात्मक रूपमा कमजोर बनाउने सोच बोकेर हिँड्ने वा त्यसको सट्टा रोमाञ्चकारी, प्रयोगात्मक र परिवर्तनवादी सोच बोकेर हिँड्ने, तपाईं आफैँ चयन गर्न सक्नुहुन्छ ।

५. कल्पनाशक्तिको प्रयोग गर्नुहोस्

नकारात्मक सोचबाट टाढा भएपछि तपाईंले गर्ने भनेको कल्पनाशक्तिको प्रयोग हो । जब सबै कुरा राम्ररी अघि बढिरहेको हुन्छ, त्यतिवेला तपाईंमा सकारात्मक ऊर्जा हुनेछ । जब तपाईंले अप्ठ्यारो महसुस गर्नुहुनेछ, त्यतिवेला झनै ऊर्जाशील हुन आवश्यक छ । त्यसैले आफ्नो अवस्थालाई सकारात्मक ढंगले फेरि नामकरण गर्नुहोस् । ‘मेरा कामलाई घृणा गर्छु, म कमजोर छु’ जस्ता सोेचाइले तपाईंलाई पछि पार्छन् । अप्ठ्यारोबीच सकारात्मक कल्पना गनुहोस् । तपाईंले खराब हाकिम वा

६. आफैँसँग राम्रो हुन बन्द गर्नुहोस्

कहिलेकाहीँ तपाईंको कामले सोचेजस्तो नतिजा दिँदैन । यस्तो अवस्थामा आफैँसँग राम्रो हुने र अप्ठ्यारो परिस्थितिबाट भाग्ने काम नगर्नुहोस् । हुन त कठिनाइसँग जुध्ने क्रममा कहिलेकाहीँ कमजोर र कहिले डिप्रेसनमा पुग्ने खतरासमेत हुन्छ । तर, हिँड्नुहोस्, अप्ठ्याराहरू पार गर्नुहोस् । सही समय र अवसरको प्रतीक्षा गर्नुको सट्टा आफैँलाई चुनौती दिनुहोस् र मन लागेका काम गर्नुहोस्, यदि तपाईंलाई त्यो काम गर्न डर लागेको छ भने पनि ।

७. समयको बर्बादी

तपाईं गाह्रो काम गर्दै हुनुहुन्छ भने तपाईंले बाटोमा धेरै सहज कुरा भेट्नुहुनेछ, जसले समयको बर्बादी हुनेछ तर लक्ष्यप्राप्तिमा कुनै फाइदा हुनेछैन । त्यस्ता अर्थहीन कुरामा अलमल नगर्नुहोस् । जे महत्वपूर्ण छ, त्यही कुरामा केन्द्रित हुनुहोस् । समय बर्बाद गर्ने कामको सूची बनाउनुहोस् र त्यस्ता काम नगर्न प्रतिबद्ध हुनुहोस् ।

८. अरूको भर नपर्नुहोस्

अरूले तपाईंका लागि गरिदेलान् भनेर कहिल्यै अपेक्षा नगर्नुहोस् । तपाईंको जीवनसाथी, साथी वा मालिकसँग पनि तपाईंले यस्तो अपेक्षा गर्न सक्नुहुन्न । उनीहरू सबै आफ्नै आवश्यकता पूरा गर्न व्यस्त छन् । तपाईं आफूबाहेक अरू कसैले तपाईंलाई खुसी पार्ने वा तपाईंका लक्ष्य प्राप्त गरिदिनेछैनन् । यी सबै तपाईंले मात्रै गर्न सक्नुहुन्छ ।

९. योजना

योजना बनाउनुहोस् । आगाडि तीन कदमका विषयमा जानकार हुनुहोस् । धेरै जानकार पनि हुनुपर्दैन । तपाईंको साप्ताहिक योजनामा कहिले, के र कसरी गर्दै हुनुहुन्छ भन्ने विषय उल्लेख गर्नुहोस् । हरेक दिन तपाईंले के सिक्नुभयो भन्ने सम्झनुहोस् र के सुधार गर्न सकिन्थ्यो भन्ने सोच्नुहोस् ।

१०. विचलित हुनबाट जोगिनुहोस्

आफ्नो लक्ष्यप्राप्तिमा केन्द्रित भएर निरन्तर लागिराख्दा पनि मानिस विचलित हुन सक्छन् । त्यसैले तपाईंले आफूमा देखिएको थकानका संकेतहरू बुझ्न सक्नुपर्छ । त्यस्तो अवस्थामा आराम गर्नुहोस् । तपाईंले आफ्नो साप्ताहिक क्यालेन्डरमा मनोरञ्जन र आरामका लागि समय छुट्याउनुभयो भने तपाईंको शरीर र दिमागले पनि आराम पाउनेछ । फरक कामहरू गर्नुहोस् । टिममा वा एक्लै गर्दा पनि सिर्जनशील र तर्कसंगत काम गर्नुहोस् । काम गर्दा बोरिङ लागेमा स्थान परिवर्तन गर्नुहोस् ।

 

 

 
 
  
 

You may also like