के निद्रा लाग्दैन ? सुत्नुअघि ध्यान दिनुपर्ने कुराहरु

by समतल अनलाइन

मानिसहरुका निद्रा नलाग्ने धेरै कारण हुन्छन् । खासगरी नियमित उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा नलाग्ने समस्या बढी देखिन्छ । साथै मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । यदि तपाईं पनि निद्रा नलागेर हैरान हुनुहुुन्छ भने तलका उपायहरु अवलम्बन गरेर अनिद्राबाट मुक्ति पाउन सक्नुहुन्छ ।
के गर्ने ?

यदि तपाईं लागूऔषधको दुव्र्यसनमा हुनुहुन्छ भने आजैदेखि त्याग्नुहोस् । यसको सेवनले मानिसलाई निद्रा लाग्दैन । आफूलाई सहज हुने आसनमा सुत्नुहोस् । सुत्ने बिस्तरा राम्ररी नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।
सुत्नु अघि एक गिलास मन तातो पानी पिउनु ठीक भए पनि धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।
घुर्ने समस्याका कारण व्यक्ति आफूलाई मात्रै असहज हुँदैन, छेउमा सुत्ने अरू व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ । घुर्ने समस्या छ भने उत्तानो परेर नसुत्नुहोस् ।
दिउँसो सुत्ने मानिसलाई राति निद्रा लाग्दैन । दिउँसो निद्रा लाग्ने तर साँझमा निद्रा लाग्दैन भने दिउँसो सुत्न बन्द गर्नुहोस् । बिस्तारै बानी पर्न थाल्छ ।
स्वस्थ खानपान अनिद्राको प्रमुख उपचार हो । माछा, मासु, दही, केरा, प्याजजस्ता खाद्य पदार्थ खानामा समावेश गर्नुहोस् ।
व्यायाम गर्ने बानी छैन भने आजैदेखि नियमित व्यायाम गर्नुहोस् । ब्यायामले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ र स्वस्थ मानिसलाई मज्जाको निद्रा लाग्छ ।
डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस् । जसले मिठो निद्रा लगाउन मद्दत पुर्याउँछ ।
चर्को प्रकाशमा सुत्ने बानी छ भने त्यस्तो बानी परिवर्तन गर्नुहोस् । यसले निद्रा लाग्दैन , बेडरुममा सकेसम्म मधुरो प्रकाश बाल्नुहोस् ।
ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्ने लगायतका बानी छन् भने आजै त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तरामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् । मोबाइल नचलाउनुहोस् ।

कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।
सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।
बिस्तारै माथिका उपाय आफूमा लागू गर्न थाल्नुभयो भने तपाईंको अनिद्रा बिस्तारै मीठो निद्रामा फेरिन सक्छ,शुभरात्री ।

 
 
  
 

You may also like