भारतमा आन्दोलित कृषकलाई दिल्ली प्रवेशमा रोक

by समतल अनलाइन

नयाँदिल्ली। कृषि कानूनको विरोधमा आन्दोलनमा उत्रिएका किसानलाई भारतीय राजधानी नयाँदिल्ली प्रवेशमा रोक लगाउन विभिन्न नाकामा खडा गरिएका अवरोधलाई प्रहरीले हटाउन थालेको छ ।

दिल्ली प्रहरीले ठूलो संख्यामा किसानहरु उपस्थित हुने गाजीपुर बोर्डरमा बनाइएका अवरोधलाई हटाएको छ । आक्रोशित किसानलाई रोक्न प्रहरीले दिल्ली प्रवेश गर्ने केही नाकाहरुमा फलामका किला र कंक्रिटका निकै मजबुत बैरिकेडहरु खडा गरेको थियो । प्रहरीले अवरोध हटाउन थालेपछि भारतीय काँग्रेसका नेता राहुल गान्धीले एक ट्वीटमार्फत अहिले देखावटी बैरिकेड हटेको भन्दै चाँडै नै कृषि विरोधी तीन वटै कानून पनि हट्ने जिकिर गरेका छन् ।

त्यसैगरी भारतीय किसान युनियनका नेता राकेश टिकैतले सडकको अवरोध हटेपछि आफ्नो उत्पादन बेच्न संसदमा जाने चेतावनी दिएका छन् । एक ट्वीटमार्फत नेता टिकैतले मोदी सरकारले अन्नदाताहरुमाथि अन्याय गरिरहेको भन्दै गरिबहरुको रोटीलाई पूँजीपतिहरुले कब्जा गरेको आरोप लगाएका छन् । सरकारले ल्याएको कृषि कानुनको विरोधमा झण्डै एक बर्षदेखि भारतीय कृषक आन्दोलित छन् ।

 
 
  
 

You may also like