चट्याङ लागेर पाकिस्तानमा कम्तीमा १४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका अधिकारीकारीहरुले जनाएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा धेरै क्षति भएको छ ।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने, ‘सँगै रहेका दाजुभाइका दुईवटा घरमा चट्याङ पर्दा दुई परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको हो । न्यान गुमाउनेमा पाँच जना बालबालिका र चार जना महिला छन् ।’

सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी वर्षाले भारतीय उपमहाद्वीमा सिँचाइ गर्न र पानीको आपूर्ति पूरा गर्न सहयोग पुग्छ । तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तानलगायतका एसियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ । सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङले लाग्दा करिब १८ जनाको मृत्यु भएको थियो । एजेन्सी

 
 
  
 

You may also like