राहत सामाग्री बोकेर उद्योग संघको टोली सत्यवतीमा

बुटवल। रुपन्देही उद्योग संघले गुल्मीमा गएको पहिरो प्रभावित परिवारहरुलाई राहात स्वरुप घटनास्थल पुगेर विहीवार राहात सामाग्री वितरण गरेको छ ।


संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा पहिरो प्रभावित क्षेत्र सत्यवती ३ पुगेर संघकातर्फबाट संकलन गरिएको करिव १ लाख वराबरको राहात सामाग्री वडा नं.३ का वडा अध्यक्ष रुक बहादुर रानालाई हस्तान्तरण गरिएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संघले सो क्षेत्रमा आवश्यक सामाग्रीका बारेमा जानकारी लिएर राहात लगेको बताउनु भयो । भण्डारीका अनुसार संघले खानेपानीका लागि १ हजार लिटरका प्लाष्टिक ट्याङ्की, टेण्ट, गुन्द्रीहरुसहित अन्य राहात सामाग्री प्रदान गरिएको छ ।
संघले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबाट राहात सामाग्री संकलन गरेको जनाइएको छ ।

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीमा प्रथम उपाध्यक्ष माधव पौडेल, द्वितिय उपाध्यक्ष दिलिप सापकोटा, महासचिव कृष्ण प्रसाद पराजुली, सदस्य बसन्त ढकाल तथा प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

सो अवसरमा राहात सामाग्री हस्तान्तरण गर्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले पहिरो पिडित परिवारहरुको दुःखमा संघले थोरै मल्हम लगाउने उद्देश्यले प्रभावित क्षेत्रमा आएको बताउँदै आगामी दिनमा पनि सहयोगका लागि हात अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गुल्मीको सत्यवति गाउपालिकाको २ वटामा गत मंगलवार राति पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको थियो भने करिव २ सय घर परिवार प्रभावित भएका छन् । सत्यवति गाउँपालिकाको लिम्घामा ११ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको थियो । वडानम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको हो ।

 
 
  
 

You may also like