पन्जसिर पनि कब्जामा लिन सफल भयौं : तालिबान, गलत दाबी : अपदस्थ उपराष्ट्रपति

by समतल अनलाइन

काबुल । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले बाँकी पन्जसिर प्रान्त पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सले तालिबानी कमाण्डरको भनाइ उद्धृत गर्दै अब पूरै अफगानिस्तान तालिबानले कब्जामा लिएको जनाएको हो । पन्जसिरमा तालिबानको विरोधमा अहमद मसुद र अपदस्थ उपराष्ट्रपति अब्दुल्लाह सालेहको नेतृत्वमा रेजिस्टेन्स फोर्स लडाइँ गरिरहेको थियो ।

तर तालिबानी कमाण्डरले अब रेजिस्टेन्स फोर्सका सेना पछाडि हटेको र पन्जसिर समेत पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् । पन्जसिर जितको खुशीयालीमा तालिबानले शुक्रबार राति राजधानी काबुलमा हवाइ फायरिङ समेत गरेको बताइएको छ ।

तालिबानको दाबी गलत : अपदस्थ उपराष्ट्रपति सालेह
केही रिपोर्ट्सले पन्जसिर उपत्यकामा आश्रय लिएर बसेका अफगानिस्तानका उपराष्ट्रपति सालेह त्यहाँबाट ताजकिस्तान भागिसकेको दाबी गरेका छन् । तर सालेहले यो दाबीको खण्डन गरेका छन् ।

उनले पन्जसिरमा आफू अझै पनि तालिबानविरुद्ध संघर्षरत रहेको दाबी गरेका छन् । अपदस्थ उपराष्ट्रपति सालेहले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै तालिबानले पन्जसिर जितेको र आफू भागेको भन्ने दाबी गलत भनेका छन् । साथै उनले एकमुठी सास रहुन्जेल तालिबानविरुद्ध लडिरहने जिकिर पनि गरेका छन् ।

उनले भनेका छन्, ‘पन्जसिर कब्जा गरेको तालिबानको दाबी गलत हो । हाम्रा सेना उनीहरूविरुद्ध डटेर संघर्ष गरिरहेका छन् ।’ यस क्रममा उनले पाकिस्तानले आफ्नो हत्या गराउन लागेको आरोप पनि लगाएका छन् ।

 
 
  
 

You may also like