बेलायतमा फेरि बढ्दै संक्रमण, एकै दिन ३८ हजार बढी संक्रमित

by समतल अनलाइन

बेलायत। बेलायतमा कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । बेलायतका चारवटै राज्यहरूमा सङ्क्रमण दर बढेको राष्ट्रिय तथ्याङ्कको कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो ।

हुन त बेलायतमा पछिल्ला दिनहरूमा दैनिक सङ्क्रमण दर २५ हजारको हाराहारीमा रहँदै आएको छ । यूकेमा ८० जनामा गरिएको कोरोना परीक्षणमा एक जना सङ्क्रमित हुने गरेको तथ्य सार्वजनिक भएको छ । नर्दन आयरल्याण्डमा ४० जनामध्ये एक जनामा, इङ्ल्याण्डमा ७० जनामध्ये एक जनामा, वेल्समा १२० जनामध्ये एक जनामा र स्कटल्याण्डमा १४० मध्ये एक जनामा एक जनामा कोरोना पोजेटिभ देखिएको राष्ट्रिय तथ्याङ्क को कार्यालयले जनाएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा सङ्क्रमित हुनेको कुल संख्या ६६ लाख ६६ हजार ३९९ पुगेको छ ।

यसै गरी कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएको छ । अघिल्लो दिन १४० जना सङ्क्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३२ हजार २४३ पुगेको छ ।

यसै गरी बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड २ लाख ९५ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७९ लाख १५ हजार ७६८ जनाले खोपको पहिलो डोज र चार करोड २३ लाख ७९ हजार ३५३ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ । एजेन्सी

 

 
 
  
 

You may also like