यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, डा.बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हँुदै आएको बताउँदै आएका छन् ।

पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) ले ६÷६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ दिल्लीमा उपचार गराइरहेका नेता खनाल स्वदेश फिर्ता भएपछि उनको समेत सहमतिमा मन्त्रीको नामावली टुंगो लगाउने स्रोतको दाबी छ ।

नयाँ अनुहार प्राथमिकतामा
एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ ।

नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउने छन् । राजधानी दैनिकबाट

 
 
  
 

You may also like