काबुल । हाजी र उनकी श्रीमती राम्रोसँग ननिदाएको वर्षौं भइसकेको छ । ‘हरेक रात मेरी श्रीमती ब्युँझिन्छिन्,’ हाजीले भने, ‘उनी तर्सन्छिन् । मलाई बोलाउँछिन् र भन्छिन्, हाजी कोही आइरहेको छ ।’
उनकी श्रीमतीले गर्ने पहिलो काम छोराछोरीलाई लुकाउनु हो । ‘त्यसपछि म उठेर ढोकामा पुग्छु र के भइरहेको छ भनेर हेर्छु । यदि त्यहाँ तालिवान आए भने घरमा कोही छैन भन्छु’, हाजीकी श्रीमतीले भनिन् । अफगानिस्तानस्थित अमेरिकी मारिन कर्पस् (जमिन र समुद्र दुबैमा खट्ने सेनाको युनिट) सँगै काम गर्दा सीएनएनले दश वर्षअघि उनलाई भेटेको थियो, त्यतिबेलाको दाँजोमा उनको अंग्रेजी भाषा केही कमजोर भएको छ । तर, पनि टेलिफोनमा उनको सन्देश स्पष्ट र ठूलो सुनिएको छ, ‘यदि तालिवानले मलाई भेट्यो भने उनीहरुले मार्नेछन् र मेरो परिवारलाई मार्नेछन् किनकी म अमेरिकी मारिन्समा दोभाषे थिएँ ।’
तालिवानले धेरैभन्दा धेरै जमिन कब्जामा लिन थालेसँगै हाजी र उनको परिवारले दैनिक सामना गर्नुपर्ने खतरा बढेको छ । यद्यपि, दोभाषेहरुका लागि जारी गरिएको अमेरिकी भिसा कार्यक्रमअन्तर्गत अमेरिका पुग्ने उनको प्रयास जारी छ । आधा दर्जन अमेरिकी सैनिक अधिकारीहरु उनको पक्षमा छन् ।
हाजी त्यस्ता व्यक्ति हुन्, जसलाई तपाईं ‘लडाकु दोभाषे’ भन्न सक्नु हुन्छ । उनी चरम युद्ध भइरहेको हेल्मन्ड प्रान्तमा तैनाथ थिए, त्यहाँ अमेरिकी सेनासँगै बसे, गस्ती गरे । उनीहरुले स्थानीय र शंकास्पद तालिवान सदस्यहरुसँग गरेको कुराकानीलाई उनले अंग्रेजीमा अनुवाद गरेर सुनाउँथे । उनले लामो समयदेखि अमेरिकाप्रति बफादारी देखाए । तर, पाँच वर्षदेखि आफ्नो जीवनदेखि त्रस्त भएर लुक्दै हिँड्नु परेको छ । अफगानिस्तानका प्रान्तहरु पछिल्लो समय तालिवानी लडाकुको कब्जामा गएको समाचार सुन्ना साथ उनको डर बढ्छ ।
यी लडाकुहरुले अमेरिकी गठबन्धन सेनालाई सहयोग गर्ने अफगानीहरुलाई मारेका छन् । हाजी जस्तै हजारौं दोभाषेहरु अहिले यस सैन्य समूहको निशानामा छन् ।
तालिवानबाट भाग्दै
जब सिएनएनले काबुलको कुनै एक ठाउँमा हाजीको अन्तर्वार्ता लिएको थियो । त्यतिबेला उनी अमेरिकाको भिसाका लागि तेस्रोपटक आवेदन दिने प्रक्रियामा थिए ।
उनको टुकडीका केही साथीहरु भिसा पाएर अमेरिका पुगे, हाजी अफगानिस्तानै छन् । उहाँलाई आफूले गरेको सेवाले अमेरिका पुर्याउँछ भन्ने आशा छ । ‘यदि मैले भिसा पाइनँ भने पक्कै पनि म मर्नेछु,’ उनले भने ।
स्पेशल इम्मिग्रेसन भिसा (एसआईभी) मै उनको आशा अडिएको छ । यो भिसा अफगानिस्तानका दोभाषेहरुका लागि बनाइएको हो । तर, दुई निवेदन र ६ वर्षपछि पनि अमेरिकाको ढोका अझै उनका लगि खुलेको छैन । भिसा प्रक्रिया बुझ्न खोज्नु भनेको प्रशासनिक दुविधामा पर्नु हो ।
दश हजारभन्दा धेरै अफगानीहरु एसआईभी भिसाको निवेदन प्रक्रियामा अड्किएका छन् । र, अमेरिकास्थित अन्तर्राष्ट्रिय शरणार्थी सहायता प्रोजेक्ट (आईआरएपी) का अनुसार यस प्रक्रियामा निवेदकले चार वर्षसम्म धैर्यता गर्नु तर्कसंगत नै हो ।
हाजीको निवेदन दुई पटक अस्वीकृति भयो, किन यस्तो भयो भन्ने उनलाई थाहा छैन । पहिलो अस्वीकृत चिट्ठी उनले सीएनएनलाई देखाए, जहाँ उनको घटनासँग सम्बन्धित ‘संवेदनशील सूचना’ लेखिएको छ । दोस्रोमा ‘इमानदारीता र महत्वपूर्ण सेवाको कमी’ लेखिएको छ ।
जबकी, धेरै अमेरिकी सैनिकहरुले उनको काम र लगावको प्रशंसा गर्दै सिफारिपत्र लेखेका छन् । ‘शत्रुको अपरेशनमा अवरोध गर्न उनको भूमिका महत्वपूर्ण रहेको’ ती पत्रहरुमा उल्लेख छ । उनको निवेदन अस्वीकृत हुनुको एउटा कारण निजी क्षेत्रको एउटा कन्ट्रयाक्टर कम्पनीले दिएको रोजगारदाता चिट्ठी हो । अमेरिकालाई दोभाषे उपलब्ध गराउने यस कम्पनीले बुझाएको पत्रमा उनले ‘बीचमै सेवा’ छाडेको उल्लेख छ ।
आफ्नो बर्खास्ती अन्यायपूर्ण थियो भन्ने हाजीको दाबी छ । तालिवानले खडा गरेको चेक प्वाइन्टका कारण आफूले केही समय काममा फर्कन नपाएको र यसपछि कन्ट्रयाक्टरले सम्झौता रद्द गरेको उनको दाबी छ । यस दाबीको पुष्टि गर्ने स्वतन्त्र आधार सीएनएनले भेटाउन सकेन । तर, यही समय हाजीसँगै काम गर्ने अर्का एक साथीका अनुसार त्यतिबेला राजधानी काबुल जाने सडक असुरक्षित थियो । ‘त्यहाँबाट यात्रा गर्दा मर्ने र बाँच्ने सम्भावना ५०–५० प्रतिशत थियो,’ अहिले अमेरिकामा रहेका ती साथीले भने ।
सीएनएनले काबुलस्थित दूतावाससँग पनि हाजीको निवेदनका विषयमा बुझ्यो, तर प्रवक्ताले व्यक्तिगत घटनामा टिप्पणी नगर्ने बताए ।
अमेरिकी विदेश मन्त्रालयले पनि यही भन्यो । यद्यपि अमेरिकी सैनिकलाई सहयोग गर्ने अफगानीलाई भिसा दिन आफूहरु प्रतिबद्ध रहेको बतायो । ‘हामीले लामो समयदेखि भन्दै आएको छौं, हामी अमेरिकी सेना र हाम्रा कूटनीतिक कर्मचारीलाई सहयोग गर्ने तथा उच्च खतरामा रहेकाहरुलाई सहयोग गर्न प्रतिवद्ध छौं । यी व्यक्तिहरुलाई सहयोग गर्नका लागि हामीले सम्भव सबै उपायमा काम गरिरहेका छौं ।’
जब हाजीले २०१५ पहिलोपटक निवेदन दिएका थिए , त्यतिबेलै उनको संकट सुरु भइसकेको थियो । उनलाई खोज्दै तालिवान घरसम्म आएको थियो । ‘धेरै पटक उनीहरु मेरो घरमा आए । उनीहरुले मानिससँग सोधे, हाजी कहाँ बस्दैछन् ? उनको परिवार कहाँ छ ? जब मैले त्यो सूचना पाएँ, तब घर छाडेर हिँडे,’ हाजीले सम्झिए ।
त्यसपछि उनको परिवार कहिले कता, कहिले कता स¥यो । उनी सधैं त्रासमा रहे, काम गर्न सकेनन् । ‘हामी एक ठाउँमा केही साता वा एक महिना बस्छौं, त्यसपछि अर्को ठाउँमा सर्छौं । किनकी मलाई उनीहरु आउने छन् भन्ने डर छ ।’ आमा र दाजुले उनको परिवारलाई खानका लागि पैसा पठाउँछन् । सुरक्षा चिन्ताका कारण उनी आफ्ना भर्खरका छोराछोरीलाई घरभित्रै राख्छन् । ‘मैले सुनेअनुसार धेरै ठाउँमा जब उनीहरुले बाबु भेट्टाउँदैनन्, तब छोरालाई नै अपहरण गरेर मार्छन् ।’
सानै उमेर भए पनि छोराछोरीहरु खतराबारे जानकार छन् । ‘दिनभर म घरमै हुन्छु,’ हाजीका जेठा छोराले भने, ‘म रोएपछि मम्मीले बाहिर निस्कने अनुमति दिंदिनन् । किनकी, तालिवानका कारण खतरा छ ।’ यी बालकको सपना डाक्टर वा इन्जिनियर बन्ने छ । तर, विगत पाँच वर्षदेखि स्कुल जान पाएका छैनन् ।
संघारमा रहेको देश
साथीभाइबाट आउने म्यासेज, सामाजिक सञ्जालमा प्रवाह हुने सूचना र टेलिभिजनको समाचार, हरेक कुराले यो परिवारलाई त्रासको सम्झना गराउँछ । गत जुनमा तालिवानले भनेको थियो, ‘विदेशी दस्तासँग काम गरेकाहरुलाई कुनै नोक्सानी पुर्याउने छैनौं ।’
तर, यसै गृष्ममा तालिवानले अमेरिकी सेनाका लागि काम गरेका एक दोभाषेको टाउको काटेको समाचार आएको थियो । अमेरिकी सेनाले अफगानिस्तान छाड्न थालेसँगै तालिवानले एकपछि अर्को भूभागमा कब्जा जमाइरहेको छ र उनीहरुले बदला लिनेछन् भन्ने डर दोभाषेहरुलाई छ । अमेरिकी सेनाको बर्हिगमनले अगस्टको अन्त्यसम्म पूर्णता पाउने अपेक्षा गरिएको छ ।
अफगानी दोभाषेहरुलाई सहयोग गर्नुपर्ने जनस्तरको चर्को दबाबपछि अमेरिकी विदेश मन्त्रालयले ‘शरणार्थी कार्यक्रम’ मा अफगानीहरुलाई प्राथमिकता दिइने घोषणा गरेको छ । तर, यसका आफ्नै चुनौतीहरु छन् । आवेदकले निवेदनको प्रक्रिया चलिरहेका बेला अफगानिस्तान छाडेर कम्तिमा एक वर्ष तेस्रो देशमा गए बस्नुपर्छ ।
कुनै सहयोग, सुरक्षा र भिसा पाउने सुनिश्चिचता समेत नभएको यस्तो योजनामा संलग्न भएर सबै मापदण्ड पूरा गर्नु धेरै अफगानीहरुका लागि असम्भव हुनसक्छ । अवकाश प्राप्त अमेरिकी सैनिक जिम्मी हुर्ले कुनै समय त्यही प्लाटुनमा थिए, जहाँ हाजी काम गर्थे । उनले हाजीको कागजपत्र मिलाउनका लागि सहयोग गरिरहेका छन् । हाजी र उनको परिवारले अफगानिस्तानबाहिर नयाँ जीवन पाउन् भन्ने आशासहित उनले सर्वसाधारणसँग रकम संकलन गरिरहेका छन् ।
‘मलाई लाग्छ, उनी यसका लागि योग्य छन्,’ हुर्लेले भने, ‘हामी हामीसँग बसे । हामीसँगै गस्ती गरे । यी केटाहरुले कामका लागि आफूलाई वैध रुपमै खतरामा पारे । र, मलाई लाग्छ उनीहरुसँग पनि यहाँ आएर सुरक्षित जीवन बाँच्ने त्यति नै अधिकार छ, जति हामीसँग छ ।’
सीएनएनले हाजीसँगै हेल्मन्डमा काम गरेका झण्डै आधा दर्जन सैनिकसँग सम्पर्क गर्यो, उनीहरु सबैलाई हाजीले आफ्नो कामबापत सम्मान पाउनु पर्छ भन्ने लाग्छ । अवकाशप्राप्त मेजर जोसेफ हान्सन, जो २०११ मा हाजीको प्लाटुनका नेता थिए । उनी भने, ‘दोभाषेहरुमा पनि त्यति नै खतरा हुन्छ, जति लडाकुहरुमा हुन्छ । हाजीले त्यतिबेला भएका लडाँइमा मैले जत्तिकै खतरा मोलेका थिए ।’
उनले थपे, ‘मेरो दिमागमा गढेको एउटा कुरा छ । हामी एउटा गाउँमा गस्ती गरिरहेका बेला नजिकैको एम्बुसमा फसेका थियौं । शत्रुहरुले दुबैतर्फ घेरा हालेका थिए । हाम्रा एक सैनिकलाई छातीमा गोली लाग्यो र हातियार नबोकेका हाजी ती घाइते सैनिक भए ठाउँमा दौडिएर पुगेका थिए, उनी हाम्रो रेडियो म्यानको पछि–पछि दौडिरहेका थिए, सञ्चारमा सहयोग गर्नका लागि उनले दुष्मनको आगोमा आफैंलाई होमेका थिए । यो विशेष थियो, यस्तो तपाईंले हत्तपत्त देख्नु हुन्न । तपाईंले सबै हतियार नभएका सैनिकहरुमा पनि यस्तो आँट देख्नुहुन्न, जो एक्लो दोभाषेमा देखियो, यस्तैकारण तपाईले कसैलाई विश्वास गर्न जान्नु हुन्छ ।’
अमेरिकी सैनिक हाबी भएको समय हाजीले उत्साहित भएर दोभाषेको काम थालेका थिए, यतिबेला उनी र उनकी श्रीमतीले आफ्नो बाँकी जीवन खतरामा हुनेछ भनेर सोचेनन् । ‘म निकै खुसी थिएँ । उनले अमेरिकीहरुका लागि काम गरिरहेका थिए । उनको जीवन राम्रो थियो, राम्रो कपडा, राम्रो खानपानको व्यवस्था थियो,’ श्रीमतीले भनिन् ।
तालिवालने फेरि अफगानिस्तानका प्रान्तहरु कब्जा गर्नेछ भन्ने हाजीलाई लागेको थियो । ‘मुख्य कुरा मेरो देशबाट ती खराब मानिसहरुलाई सफा गर्ने प्रयास गर्नु थियो । जब मैले अमेरिकी सेनाका लागि काम थालें, त्यतिबेला सेनाले अफगानिस्तान छाडेपछि हाम्रो लागि थप खतरा हुन्छ भन्ने लागेको थिएन,’ उनको भनाइ छ । अहिले तालिवानले देशभर ठूलो भूभाग कब्जा गरेपछि हाजीकी श्रीमतीले सहयोगको याचना गरेकी छिन् । ‘हाम्रो जीवन खतरामा छ । यदी हामी अफगानिस्तानमै रह्यौं भने मेरा बालबच्चा, श्रीमान् र मेरो अन्त्य हुनेछ ।’
मेजर हान्सनको याचना पनि यस्तै छ । ‘यदि कोही अमेरिकी नागरिकताको हकदार हुन्छ भने ती हाजीजस्ता व्यक्ति हुन् । हाजीले युनिफर्ममा आफ्नो देशको सेवामात्रै गरेनन् र हाम्रा लागि दुई वर्षसम्म मात्र जीवन जोखिममा पारेनन् । उनले अहिलेसम्म हरेक दिन आफ्नो जीवन जोखिममा राखेका छन् र यदि उनले हामीसँगै आश्रय पाएनन् भने उनी र उनको परिवारको कथाको सुखद् अन्त्य हुनेछैन । यसबारे म दुविधामा छैन,’ हान्सनले थपे, ‘म उनको सुरक्षालाई लिएर त्रस्त छु । मलाई आशा छ, हामी राम्रो काम गर्नेछौं । वा कसैले गर्नेछ किनकी यस्ता व्यक्तिभन्दा बढी हकदार अरु हुँदैन ।’ –सीएनएनबाट