दुब्लाउँदै गएका किमको टाउकामा ब्यान्डेज, स्वास्थ्यको विषयमा फेरि चर्चा शुरु

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यको विषयमा फेरि चर्चा शुरु भएको छ । दुब्लाउँदै गएका उनको टाउकामा ब्यान्डेज लगाएको देखिएपछि किम बिरामी पो परेकी भन्ने चर्चा शुरु भएको हो ।

गत जुलाई २४ देखि २७ तारिखसम्म आयोजना भएको उत्तर कोरियाली सेनाको कार्यक्रममा उपस्थित किमको फोटोहरु त्यहाँकै सरकारी सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गर्दा उनको शीरको पछाडिको भागमा ब्यान्डेज देखिएको थियो ।

३७ वर्षका किम यतिबेला देशमा सिर्जित आर्थिक तथा सामाजिक समस्याका कारण दबाबमा छन् । कोरोनाबाट बच्न उत्तर कोरियाले गतवर्षदेखि लकडाउन गरेको छ । त्यहाँ खाद्य संकट र भोकरीको अवस्था सिर्जना हुनसक्ने चेतावनी दिइएको बेला किम बिरामी परेको हुनसक्ने हल्ला चलेको हो ।

यसअघि किम एक्कासी दुब्लाएको तस्बिरहरु सार्वजनिक हुँदा त्यहाँका जनता चिन्तित बनेको खबरहरु आएको थियो। गतवर्ष त किमको मृत्यु नै भएको खबर आएको थियो । त्यसबेला मदिरा र चुरोट सेवन गरेका कारण किम बिरामी परेको पनि हल्ला चलेका थिए । तर ती हल्ला पछि निराधार सावित भए जब किम सार्वजनिक कार्यक्रममा देखिए ।

उत्तर कोरियाले आफ्नो देशको अवस्थाबारे कमै मात्र जानकारी दिने भएकाले त्यहाँ के भइरहेको छ कसैलाई थाहा हुँदैन । उत्तर कोरियाले आफ्नो देशमा एक जनामा पनि कोरोना संक्रमण नभएको दाबी गर्दछ । ब्लुमबर्ग

 
 
  
 

You may also like