पौडेल पक्षको निष्कर्ष : अनियमित क्रियाशिल सदस्यबाट देउवाले पार्टी कब्जा गर्न खोजे ‘समयमै फेयर एण्ड फ्रि महाधिवेशन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंग्याउन नसकेका स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरु मात्रै सहभागी गराएर महाधिवेशन आयोजना गरिनुपर्ने ठहर गरेको छ ।

ठमेल चाक्सिबारीस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवासमा आज (मंगलबार) बसेको इतर समूहको बैठकले विवाद देखिएका स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरुबाटै महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेको हो । भेलाले पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न व्यक्तिका नाममा अनाधिकृत क्रियाशील सदस्य भित्र्याएर पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ ।

‘पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा चरम धाँधली भएको छ । महाधिवेशन फेयर गराउन चाहिएको छैन, म्याद कटाएर हामीलाई खाए खा नखाए घिचको अवस्था बनाएर महाधिवेशन साने प्रपञ्च पनि भइरहेको छ’, भेलामा सहभागी एक नेताले भने, ‘हामी अब यस्तो सहँदैनौ, समयमै महाधिवेशन हुनुपर्छ, फेयर एण्ड फ्रि महाधिवेशन हुनुपर्छ ।’

ती नेताले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन पनि निष्पक्ष हुनुपर्ने बताए । ‘त्यो भन्दा दाँया–बाँया नमान्ने र भदौ १९ भन्दापछि महाधिवेशन लैजाने विषयमा पनि सहमति नदिने समझदारी भएको छ’, ती नेताले भने ।

 
 
  
 

You may also like