दशैंका प्रमुख शक्तिपीठहरू

by समतल अनलाइन

बडादशैंमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठमा पूजाअर्चना गरिन्छ । यी पीठहरूमा पूजाअर्चना गर्नुको पछाडि अनेकौं धार्मिक विश्वास एवं किंवदन्ति जोडिएका छन् । दशैंमा विशेषगरी महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको पूजा गरिन्छ । काठमाडौंका शोभा भगवती, दक्षिणकाली र भद्रकाली, नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती लगायत मठमन्दिरमा घटस्थापनादेखि नै देवीदर्शन र पूजाअर्चनाका लागि भक्तजनको भीड लाग्छ । भक्तपुरमा अष्टमातृका शक्तिपीठहरूमा तिथिअनुसार पूजा, आराधना गरिन्छ ।

देशका प्रमुख शक्तिपीठहरू
श्री दन्तकाली : यो मन्दिर सुनसरी जिल्लाको धरानमा पर्छ । पौराणिक मान्यता अनुसार सत्ययुगमा सतीदेवीको दाँत पतन भएको हुनाले दन्तकाली नाम रहेको हो । यस मन्दिरमा बडादशैंको शुरू दिन घटस्थापनादेखि नै विविध पूर्वक पूजा, आराधना गरिन्छ ।

पाथीभरा : ताप्लेजुङको पाथीभरा देवीस्थानमा पनि दशैंमा मेला लाग्ने गर्छ । यो समयमा यहाँको मौसम अनुकूल हुने भएकाले यात्रा कठिनपूर्ण भए पनि धर्मावलम्बीहरू पुग्ने गर्छन् ।

छिन्ताङ भगवती : छिन्ताङ धनकुटा जिल्लाको प्रसिद्ध देवस्थल हो । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ दशैंमा भव्य मेला लाग्ने गरेको छ ।

कंकालिनी : कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराजदेखि २३ किलोमिटर पूर्व हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिर भक्तजनको मनोकामना पूरा गर्ने शक्तिपीठमध्ये एक पीठ मानिएकाले नेपाल र भारतका भक्तजनको महŒवपूर्ण आस्थाको केन्द्र छ । यस मन्दिरमा महान् चाड दशैंमा ठूलो मेला लाग्ने गर्छ ।

गढीमाई : बाराको गढीमाईमा पनि दशैंमा ठूलो मेला लाग्ने गर्छ ।

गुह्येश्वरी : बाग्मती नदीको किनारमा रहेको गुह्येश्वरी मन्दिर सतीदेवीको गुह्य पतन भएको स्थानका रूपमा मानिन्छ । यस मन्दिरमा सर्वप्रथम तेत्तीसकोटि देवताले पूजाआराधना गरेको पौराणिक मान्यता छ । गुह्येश्वरीमा पनि घटस्थापनादेखि नै विशेष पूजाआराधना हुने गरेको छ ।

पलाञ्चोक भगवती : काभ्रेको पाँचखालस्थित पलाञ्चोक भगवती मन्दिरमा पनि बडादशैं अवधिभर मेला लाग्ने गर्छ । पाँचखाल उपत्यकाबाट ७ किलोमिटर दूरीमा रहेको यो मन्दिरमा पनि पूजाअर्चनाका लागि धर्मालम्बीहरूको भीड लाग्छ ।

कालिञ्चोक : दोलखाको कालिञ्चोक देवीस्थानमा पनि बडादशैंमा विशेष पूजाआजा हुने गर्छ । हिमालको काखमा रहेको यस ठाउँमा बडादशैंमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ ।

बगलामुखी : पाटन दरबारबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिरपरिसरमा रहेको छ । तन्त्रशास्त्र अनुसार १० महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । यस मन्दिरमा पनि नवरात्र शुरू भएसँगै दर्शनार्थीको भीड लाग्ने गरेको छ । बिहीवार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।

दक्षिणकाली : राजधानी काठमाडौंबाट दक्षिणी भेगमा करीब १७ किमि दूरीमा रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवीदेवताका मूर्ति पनि छन् । यस मन्दिरमा पनि घटस्थापनादेखि नै भक्तजनको भीड बढ्छ ।

मनकामना : गोरखाको मनकामना मन्दिर नपुग्ने मानिस सायदै कम होलान् । यस मन्दिरमा पनि बडादशैंमा दर्शनार्थीको भीड लाग्छ ।

कालिकादेवी : लमजुङको बेँसीशहरबाट २ घण्टा उकालो चढेपछि पुगिने कालिकादेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई ‘लमजुङ कालिका’ पनि भनिन्छ ।

श्री वागेश्वरी : बाँके, नेपालगञ्जमा अवस्थित यस स्थलमा सतीदेवीको जिब्रो पतन भएको मान्यता छ । यस स्थानमा सर्वप्रथम किन्नर गणले पूजाआराधना गरेको मानिन्छ । साथै नवरात्रभर यस मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

सुपा देउराली : अर्घाखाँचीको सुपा देउराली पनि महत्त्वपूर्ण शक्तिपीठ हो । पूर्वपश्चिम राजमार्गस्थित कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने यो मन्दिरमा १२ महीनै भीड लाग्ने गर्छ ।

अर्घाकोट भगवती : अर्घाखाँचीको नरपानीबाट १६ किलोमिटर उत्तरमा यो मन्दिर छ । दशंैमा यहाँ विशेष मेलाका साथै पशुबलि दिने चलन छ ।

चन्दननाथ दत्तात्रय : जुम्लाको खलंगास्थित चन्दननाथको मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । दत्तात्रय भनिने यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिंगो फेर्ने चलन छ । दशैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तीज, शिवरात्रि तथा एकादशीमा मेला लाग्छ ।

त्रिपुरा सुन्दरी : डोल्पा जिल्लाको जुफाल जुफाल विमानस्थलबाट करीब २ घण्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । चैतेदशैं र बडादशैंमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो ।

देवलहाट मन्दिर : बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए ।

मालिकादेवी : मालिकादेवीको मन्दिर बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा छ । यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा पूजा गरिँदै आएको छ ।

बडी मालिकास्थान : बडी मालिका मन्दिर मार्तडीबाट ३ दिनको पैदलयात्रापछि पुगिन्छ । १२ हजार २ सय १९ फीट उचाइमा अवस्थित यो मन्दिरमा दशंै र चैतेदशैंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ ।

काठमाडौंमा पूजिने मन्दिरहरू
काठमाडौंमा देवीका प्रसिद्ध मन्दिरहरूमा नरदेवी, शोभाभगवती, नक्साल भगवती, कंकेश्वरी, मैतीदेवी, कालिकास्थान, संकटा, भद्रकाली, रक्तकाली, हाडीगाँउस्थित मनमानेश्वरी मन्दिर, टुँडालदेवी, कमलाक्षी, वज्रवाराही लगायत पर्छन् ।

 
 
  
 

You may also like