अभिनेता–अभिनेत्रीको दसैं

by समतल अनलाइन

काठमाडौं । यो वर्षको दसैं सुरु भइसकेको छ । सबै नेपाली दसैंको तयारीमा जुटिसकेका छन् । नेपाली चलचित्रकर्मीहरूले पनि चलचित्रको छायांकन, निर्माणलगायतका कार्य रोकेर दसैंको तयारी सुरु गरिसकेका छन् । यसैक्रममा नेपाली चलचित्र क्षेत्रका केही अभिनेता अभिनेत्रीले कसरी यो वर्ष दसैं मनाउँदै छन् त । यस विषयमा यहाँ चर्चा गरिएको छ ।

गौरी मल्ल

अभिनेत्री गौरी मल्लको दसैं पनि यसपटक विगतको भन्दा फरक नहुने कथन छ । गत वर्ष जुठो परेका कारण दसैं मनाउन नपाएको उनले बताइन् । त्यसैले यसपटकको दसैं परिवारसँग मिलेर मनाउने पनि उनले जानकारी गराइन्, ‘दसैं भन्नासाथ भेटघाट, खानपिन र रमाइलो भन्ने बुझिन्छ । यसपटक यस्ता रमाइलो त हुन्छन् नै, दसैंमा केही कविता तथा लेखहरू सिर्जना गरेर दसैंलाई सिर्जनशील तुल्याउने लक्ष्य छ ।’

दीपकराज गिरी

यसपटक दसैंभन्दा चलचित्रको चटारोमा आफू रहेको दीपकराज गिरीले बताएका छन् । घटस्थापनाबाट नौ दिनसम्म विशेष व्रत लिएका दीपकराजको २४ असोजमा चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदै छ । उनी पनि अहिले चलचित्रको प्रचार काममा समय दिने योजना छन् । तथापि यो वर्ष चलचित्र टीकाभन्दा तीन दिनपछि भएकाले परिवारसँग रमाइलोपूवर्क दसैं मनाउने उनले बताए । विजया दशमीको टीका सकिएपछि आफू फेरि फिल्मको काममा जुट्ने पनि उनले जानकारी गराए ।

करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको यसपटकको दसैं पनि परिवारसँग रमाइलोका साथ बित्नेछ । अभिनेत्री करिश्मा अहिले ११ कक्षामा पढ्दै छिन्, ‘फस्र्ट ट्रमको परीक्षा यसै साता सकियो । दसैंमा कलेज बिदा भएकाले यसपटक पढाइको तनावबाट मुक्त भएर दसैं मनाइनेछ ।’ दसैंमा आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, ठूलाबाट टीका तथा आशीर्वाद ग्रहन गर्ने तथा खानपिनका साथ आपसी जमघट गरेर दसैं मनाउने उनले बताइन् ।

भुवन केसी

अभिनेता भुवन केसीले यसपटकको दसैं परिवारसँग बसेर काठमाडौंमा मनाउने बताएका छन्, ‘चाँडै नै नयाँ चलचित्र एन्टी हिरोको छायांकन सुरु गर्ने लक्ष्य थियो तर स्क्रिप्ट तयार नभएका कारण दसैंमा यसपटक चलचित्रको स्क्रिप्टमाथि काम गर्ने योजना छ ।’ उनले घरमै सपरिवार जमघट भएर रमाइलो गर्दै विजया दशमीमा टीका लगाएर दसैं मनाउने योजना सुनाए ।

दीपाश्री निरौला

अभिनेत्री एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको नयाँ चलचित्र ‘छ माया छपक्कै’ यसपालिको मध्य दसैंमा रिलिज हुँदै छ । आफ्नो दसैं यही चलचित्रको दौडधूपमा बित्ने उनले बताइन्,
‘अष्टमीको दिनसम्म चलचित्रको प्रचारप्रसारमै व्यस्त हुने भएकाले नवमीको दिन विराटनगर जानेछु । टीकाको दिन परिवारमा टीका ग्रहण गरेर सो दिन परिवारसँगै रमाइलो गरी एकादशीमा काठमाडौं फर्कनेछु ।’
२४ असोजबाट ‘छ माया छपक्कै’ रिलिज हुने भएकाले एकादशीबाटै फिल्मको रिलिजमा व्यस्त रहने पनि उनले
जानकारी गराइन् ।

अनमोल केसी

अभिनेता अनमोल केसीको यो वर्षको दसैं परिवारसँगै बित्नेछ । अहिले उनी नयाँ चलचित्र धुपौरेको तयारीमा व्यस्त छन् । यो फिल्मको छायांकन कात्तिकबाट सुरु हुँदै छ । अनमोलका अनुसार उनको दसैं हजुरबुबा, बुबा तथा आफन्त मान्यजनको हातबाट टीका र आशिष् लिएर एवं परिवारसँग जमघट गरेर बित्नेछ । उनी दसैंमा पनि चलचित्र धुपौरेको स्क्रिप्ट रिडिङ तथा अन्य तयारीमा बित्नेछ । दसैंमा आफन्तसँगै जमघटसँगै धुपौरेको तयारीलाई पनि समय दिने अभिनेता अनमोल केसीले बताएका छन् ।

प्रदीप खड्का

अभिनेता प्रदीप खड्का अहिले नयाँ चलचित्र ‘प्रेम गीत–३’को तयारीमा व्यस्त छन् । दसैंको विषयमा अभिनेता प्रदीपले भने, ‘विगत डेढ÷दुई महिनादेखि बिहान जिम जाने, दिउँसो डान्स क्लास, एक्टिङ वर्कसप र बेलुका फाइट क्लासमा जाने गरेकाले निकै व्यस्ततामा दिन बित्ने गरेको छ । यी सबै क्लास सम्पन्न भएकाले यसपटकको दसैं केही फुर्सदिलो हुनेछ ।’ दसैंपछि यो चलचित्रको लगत्तै छायांकन हुने भएकाले विगतको जस्तै परिवार र आफन्तसँग रमाइलोपूर्वक दसैं मनाउने उनले बताए ।

स्वस्तिमा खड्का

अभिनेत्री स्वतिकामा खड्काको यसपटकको दसैं विगतको जस्तो हुनेछैन । यसपालि आफन्तको निधनका कारण जुठो परेकाले औपचारिक रूपमा दसैं मनाउने कार्यक्रम नरहेको स्वस्तिकाले बताइन्, ‘जुठो परेका कारण हामी दसैंमा टीका लगाउँदैनौं ।
दसैंमा केही दिन यसपालि हामी कतै घुम्न जान सक्नेछौं ।’ आफ्नो नयाँ चलचित्र ‘घामट शेर’को प्रदर्शनी तयारी भएको र नयाँ चलचित्र ‘चपली हाइट ३’ को छायांकन तयारी हुँदै गरेकाले यी दुई चलचित्रका लागि पनि दसैंलगत्तै आफूले समय दिने अभिनेत्री स्वस्तिकाले बताइन् ।

सौगात मल्ल

अभिनेता सौगात मल्ल यतिबेला बेलायत पुगेका छन् । उनी यसपटक दसैं मनाउन बेलायत पुगेका हुन् । उनको नयाँ फिल्म ‘पोइ प¥यो काले’ आगामी ८ कात्तिकबाट रिलिज हुँदै छ । उनी आफ्नी प्रेमिका एवं अभिनेत्री सृष्टि श्रेष्ठसँग दसैं मनाउन लन्डन
पुगेका हुन् ।
लन्डन जानुअघि उनले राजधानीसँग दसैंबारे भने, ‘सृष्टिको परिवार लन्डनमा हुनुहुन्छ । उतैबाट यसपटक सँगै दसैं मनाउन निम्ता आएका कारण हामी दुवै जना लन्डन जान लागेका हौं ।’
यसपटकको आफ्नो दसैं विदेशमा बित्ने र विदेशमा दसैंको अनुभव यसपटक आफूले सँगाल्ने पनि यी अभिनेताले बताए ।

 
 
  
 

You may also like