एकै दिनमा विश्वभर ४ लाख ७८ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ७८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड सात लाख ४८ हजार नाघेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बेलायतका ५४ हजार ६७४ जना रहेका छन् । त्यहाँ उक्त अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा इन्डोनेसिया रहेको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा ५१ हजार ९५२ जना संक्रमित थपिएका छन् ।

साथै एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । सोही अवधिमा भारतमा ४१ हजार २८३ जना संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ । यसैबीच बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद कोरोना संक्रमित भएका छन् । गएको जुनदेखि स्वास्थ्य मन्त्री बनेका साजिदमा संक्रमण पुष्टि भएको हो ।

खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए । बेलायतमा पछिल्लो केही दिनयता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर साढे तीन अर्ब भन्दा धेरै डोज खोप लगाइयो
विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पछिल्लो समय विश्वभर कोरोनाविरुद्धको खोप अभियानले तीव्रता पाउन थालेको छ ।

विश्वमा सबैभन्दा धेरै डोज खोप चीनमा लगाइएको छ । चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज खोप लगाइएको छ । त्यस्तै भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८ सय ७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

त्यसैगरी अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज खोप लगाइएको छ । जर्मनी आठ करोड ४९ लाख ८९ हजार ८५०, बेलायतमा आठ करोड २३ लाख ९२ हजार १९४, जापान छ करोड ६७ लाख १४ हजार ५२८, फ्रान्समा छ करोड ३३ लाख १९ हजार ८०५, टर्कीमा छ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

त्यसैगरी इटाली छ करोड पाँच लाख ७१ हजार ३४१ डोज खोप लगाइएको छ । विश्वका विकासशील राष्ट्रभन्दा विकसित देशहरुले धेरै खोप लगाएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like