आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ ।

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने उनले जानकारी दिए ।

“ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ,” उनले भने ।

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको छ । उनले परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए ।

उनले भने, “परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।”

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिए ।

उनले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरे । उनले जनकपुरबाट भारतको सीमासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

 
 
  
 

You may also like