खोलाले बगाएर दाजुभाइ बेपत्ता

पाँचथर। पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज (आइतबार) दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इवाखोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् । स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका ६ जना किशोर पौडी खेल्न भनी इवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए ।

पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरले गाउँमा आई स्थानीयवासीलाई खबर गरेका थिए । दिउँसो करीब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली समेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् ।

 
 
  
 

You may also like