नेकपाभित्रबाटै सभामुखको राजीनामा माग; के गर्लान् महरा ?

by समतल अनलाइन

काठमाडौं । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको पद धरापमा परेको छ । उनको राजीनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रबाट समेत मागिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका एक पूर्वमन्त्रीले महराले राजीनामा दिनुपर्ने बताए । रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएर घटनाको निष्पक्ष छानविनको मार्ग प्रशस्त गर्नुपर्ने बताए । ती नेताले भने, ‘विगतमा पनि महिलाका विषयमा टिप्पणी गरेको र छोएको विषयमा मन्त्रीहरुले राजीनामा दिनुभएको छ ।’

वर्तमान सरकार बन्दा कानुनमन्त्री बनाइएका शेरबहादुर तामाङले बँगलादेशमा एमबीबीएस अध्ययन गर्ने महिलाहरु दुव्र्यवहारको शिकार हुनेगरेको टिप्पणी गर्दा राजीनामा दिन वाध्य भएका थिए । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा दिन भनेका थिए ।

यसैगरी, महिलालाई छोएको दृश्यको भिडियो सार्वजनिक भएपछि तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई राजीनामा दिन लगाइएको थियो । असार १५ को धान दिवस मनाउने क्रममा मन्त्री पराजुली एकजना महिलासँग टाँस्सिएको र हिलोमा खेलेको दृश्य बाहिर आएको थियो । महिलाले आफूमाथि मन्त्रीबाट त्यस्तो कुनै गलत व्यवहार नभएको बयान दिंदादिदै मन्त्री पराजुली राजीनामा दिन वाध्य भएका थिए ।

यी दुई घटनामा मन्त्रीहरुले राजीनामा दिएको नजिर बसेपनि सभामुख महराले आफूमाथि गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन् । उनीमाथि राजीनामाको चौतर्फी दबाब बढेको छ ।

सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजीनामा मागिसकेका छन् । घटनाको निष्पक्ष छानविनका लागि पनि राजीनामा जरुरी भएको अभिव्यक्ति दिएका छन् ।

आइतबार तीनकुनेस्थित एक महिलाको डेरामा महरा पुगी जर्बजस्ती गरेको विषय बाहिर आएको थियो । संसदमा कार्यरत कर्मचारी ती महिलाले महराले आफूमाथि जर्बजस्ती गरेको आरोप लगाएकी थिइन् । File Photo

 
 
  
 

You may also like