महन्थ पक्षले माग्यो उपेन्द्र पक्षका दुई सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना दुई सांसदलाई २४ घण्टाको अल्टिमेटम दिंदै स्पष्टीकरण मागेको छ ।

पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान नगरेको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहश्रराम यादव र पुर्मती ढेंगा मगरलाई स्पष्टीकरण मागेको हो । यसअघि पाँच दिनको म्याद दिएर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । अब २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी दिएको छ ।

लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद छन् । जसमध्ये मन्त्री समेत रहेका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी ठाकुर पक्षका हुन् । अर्का अध्यक्ष यादवको पक्षले पनि ठाकुर पक्षका ती मन्त्रीलाई स्पष्टीकरण मागेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका ओलीपक्षीय नेता शंकर पोखरेलको नेतृत्वमा सरकार छ । यता ओलीकै नेतृत्वमा रहेको संघीय सरकारमा पनि ठाकुर पक्ष सहभागी भएको छ । जसपाकै यादव पक्ष भने ओली सरकारविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध छ ।

 
 
  
 

You may also like