ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं। कोरोना महामारीका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । गत वर्ष कोरोना महामारी शुरु भएयता सबैभन्दा बढी मृत्यु हुनेमध्ये ब्राजिल दोस्रो मुलुक रहेको छ ।

कोरोनाको खोप प्रभावकारी रुपमा वितरण हुन नसक्दा ब्राजिलमा मृतकको संख्या अझै बढ्ने अधिकारीहरुले चेतावनी दिएका छन् । हालसम्म १५ प्रतिशत नागरिकले मात्र खोप लगाएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति जायर बोलसनोरोले कोरोनाबाट बच्नका लागि सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गराउन चासो नदेखाउँदा संक्रमण तीव्र गतिमा फैलिएको कतिपयले आरोप लगाएका छन् ।

महामारी नियन्त्रणका लागि प्रभावकारी कदमहरु चाल्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारको कडा आलोचना गरेका छन् । यस्तै सरकारले खोप खरिदको प्रक्रिया अघि बढाउन ढिलो गरेको भन्दै राष्ट्रपतिको निन्दा गरेका छन् ।

गत हप्तादेखि ब्राजिलमा दैनिक ७० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् । संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या भएको बताइएको छ । एजेन्सी

 

 
 
  
 

You may also like