रक्षा आफैले राखेर प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ? (सूची)

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सनथ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । विस्तारित मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय आफैले राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

 
 
  
 

You may also like