गृहमन्त्रीको माग : सहकारी मात्र होइन, खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौं

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् ।

गगन थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदन बाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए । त्यसको जवाफमा आइतबार संसद् बैठकमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदन बाहिर पठाउन माग गरेका हुन् । उनले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाउनुपर्ने बताए ।

‘देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाऔं । त्यो जतिसुकै शक्तिशाली होस्, यो देशको मन्त्री होस्, वा पार्टीको महामन्त्री होस्,’ उनले भने, ‘सदनलाई लड्ने र भिड्ने थलोको रुपमा नबनाऔँ। तथ्यमा छलफल गरौं ।’
लामिछानेले गोर्खा मिडियामा स्वेट शेयर लिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचलनको आरोपबारे प्रस्टीकरण दिएका छन् । ‘स्वेट शेयरको रुपमा काम गरे । काम छोड्दा छाडेर गए,’ उनले भने, ‘न म सदस्यको सहकारी न व्यस्थापनको मान्छे ।’

मन्त्री लामिछानेले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको र नदेखिएको बताए । उनले मिडिया ट्रायल समेत भएको बताए । ‘सांसदलाई बोल्न दिने नदिने निर्णय पार्टीको बैठकबाट गर्नुपर्ने रहेछ । लोकतन्त्रको यो कस्तो अभ्यास हो ?,’ उनले भने । उनले जीबी राईले गरेको फोहोर आफूले उठाउनु पर्छ भन्ने नरहेको बताएका छन् । उनले पोखराले सुप्रिम सहकारीबारे गरेको छानबिनमा पनि भ्रम सिर्जना गरिएको बताएका छन् । उनले आफू एमडी हुँदा सहकारीबाट ऋण लिन गोरखा मिडियाले कुनै निर्णय नगरेको बताएका छन् ।

 
 
  
 

You may also like