१०० वर्षीया हजुरआमा कोरोनामुक्त

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका निवासी एक सय वर्षीया एक महिला कोरोना संक्रमण मुक्त भएकी छन् । कमलामाई नगरपालिका–६ की सय वर्षीया इन्दिराकुमारी थापाले कोरोनालाई जितेकी हुन् ।

जिल्ला अस्पतालमा पाँच दिनको उपचारपछि उनी संक्रमण मुक्त भएकी अस्पतालका प्रवक्ता समेत रहेका डा. सागर देवकोटाले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि थापालाई आफन्तले अस्पताल भर्ना गरेका थिए । थापा बुधबार स्वस्थ भएर घर फर्किएकी हुन् । सय वर्षीया हजुरआमाले कोरोनालाई जितेको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

ज्वरोसँगै रुघाखोकी देखिएपछि जिल्ला अस्पतालमा लगेर परीक्षण गर्दा आमालाई संक्रमण पुष्टि भएको छोरी निर्मलाले बताइन् । ‘आत्मबल र समयमै उपचार पाउँदा आमा निको हुनुभयो,’ खुशी हुँदै निर्मलाले भनिन् ।

अस्पताल पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कमी देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो ।

 
 
  
 

You may also like