भियतनाममा भेटिएको ‘हाइब्रिड भेरियेन्ट’ हावाबाट सर्न सक्छ ?

काठमाडौं । नयाँ कोभिड संक्रमणको फैलावट रोक्न भियतनाममा ठूलोस्तरमा तीव्र परीक्षण थालिएको छ । सामाजिक दूरी सम्बन्धी मापदण्ड पनि पुनः लागु गर्न लागिएको हो । धार्मिक कार्यक्रमले उत्पन्न गराएको नयाँ लहरको संक्रमणविरुद्ध यस्तो कडाइ अपनाउन लागिएको सरकारले जनाएको छ ।

भाइरस नियन्त्रणमा भियतनामलाई तुलनात्मक रुपमा सफल मानिँदै आएको छ । तर, पछिल्ला केही हप्ता त्यहाँ नयाँ संक्रमितहरु बढ्दै गएका छन् । यति मात्र नभएर अधिकारीहरुले नयाँ प्रकारको अत्याधिक खतरनाक ‘हाइब्रिड भेरियेन्ट’ पत्ता लागेकाबारे पनि चेतावनी दिइरहेका छन् । सरकारका अनुसार यो नयाँ भेरियेन्ट भारत र बेलायतमा उत्पन्न भेरियेन्टका गुणको मिलावट रहेको छ र सजिलैसँग हावाबाट सर्न सक्छ ।

भियतनाममा हालसम्म ७ हजारभन्दा बढी संक्रमण र ४७ जनाको कोभिडका काराण मृत्यु भएको रेकर्ड गरिएको छ । अहिले देखा परिरहेको नयाँ संक्रमणलाई भने हो–छि मिन सहरमा एक क्रिस्चियन मिसनसँग जोडिएको छ । त्यसमा सहभागी १२५ मा कोभिड पोजेटिभ पाइएको थियो । यसरी सो सहरको आसपासका क्षेत्रमा पनि अहिले परीक्षण भइरहेको छ र लकडाउनमा राखिएको छ ।

सरकारी निकायले प्रत्येक दिन १ लाख मानिसको परीक्षण गराउने बताइरहेका छन् र अहिलेका लागि जोखिममा रहेका समूहमा केन्द्रित रहने जानकारी दिएका हुन् । त्यस्तै सामाजिक दूरीको नियम पनि ३१ मे देखि १५ दिनसम्म कडा रुपमा लागु हुने बताइएको छ । पसल, रेस्टुरेन्टहरु बन्द गरिएका छन् भने धार्मिक कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइसकिएको छ ।

सहरभरि १० जनाभन्दा धेरै सार्वजानिक रुपमा भेला हुन नपाउने भनिएको छ जसलाई बदलेर अझ पाँच जनामा सीमित गराउने सोच रहेको सरकारको भनाइ छ । यता, खोप अभियानलाई तिव्र सञ्चालन गर्ने सम्बन्धी पनि सरकार यतिबेला दबाबमा परेको छ । हालसम्म त्यहाँ १० लाख बढी अर्थात एक प्रतिशत जनसंख्यालाई मात्र कम्तीमा एक डोज खोप लगाइएको छ । बीबीसी

 
 
  
 

You may also like