प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको ‘काउण्टर’ : समस्या ‘कालो कोट’ मा होइन ‘कालो सोंच’ मा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वाेच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति नै प्रश्न उठाएपछि हिजो (सोमबार) प्रधानमन्त्री ओलीले ‘कालो कोटधारी’ अराजक भएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका थिए ।

यसैको प्रतिवाद गर्दै कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा होइन, कालो सोचमा भएको टिप्पणी गरेका हुन् । प्रवक्ता विश्वप्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन् । उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘अरु बोले अराजक अभिव्यक्ति,आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्य ज्ञान ?’

हिजो युवा संघको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए । उनले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको आलोचना गदै ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ?’ भनेका थिए ।

 

 
 
  
 

You may also like