भारतमा संक्रमितको उपचारमा खटेका ५० डाक्टरको एकै दिन कोरोनाबाटै मृत्यु

नयाँदिल्ली । भारतमा गत आइतबार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५० डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमितको उपचारमा खटेका डाक्टरहरुको मृत्यु भएको एनडीटीभीले जनाएको छ ।

इन्डियन मेडिकल एसोसियसनका अनुसार आइतबार ५० डाक्टरको मृत्यु भएसँगै हाल भारतमा झण्डै एक हजार डाक्टरको कोरोना कहरका क्रममा मृत्यु भएको छ । गत वर्ष ७३६ डाक्टरहरुको मृत्यु भएको थियो भने दोस्रो लहरका क्रममा यस पटक २४४ डाक्टरको ज्यान गइसकेको हो ।

यसैबीच भारतमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ । सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ । २५ दिनपछि संक्रमित दरमा कमी आएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने ।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन् । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ । कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन् । कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन् । एजेन्सी

 

 
 
  
 

You may also like