दुई सांसद ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभा वैठक स्थगित

काठमाडौं। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका हुन् ।

गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बेला जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क बाहिर रहेका हुन् । सम्पर्कविहीन भनिएका शाही एक कोभिड अस्पतालको आइसियुमा भर्ना भएको अवस्थामा भेटिएका छन् । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद शाहीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका मान्छेले अपहरण गरेको आरोप लगाएको छ ।

उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् ।
शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

यस्तै गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेशसभा बैठकमा अनुपस्थित छन् । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने समयमा गुरुङ बेपत्ता भएका हुन् । उनको मोबाइल अफ छ । सांसदहरुले उनलाई पटक–पटक फोन गरे पनि उनी मोबाइल अफ गरेर बसेका हुन् । उनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका थिए ।

 

 
 
  
 

You may also like