गण्डकीका तीन वटै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित

by समतल अनलाइन

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीन वटै सिटमा गठन्धनका उम्मेदवार विजयी भएका छन् । आज (बिहीबार) भएको मतदानको अन्तिम मत परिणाममा अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ निर्वाचित भए ।

उनी ३,८०८ मतभार प्राप्त गरी निर्वाचित भए । श्रेष्ठलाई स्थानीय तहतर्फ एक सय र प्रदेशसभातर्फ ३६ जनाले मत दिएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर पराजुलीले २,४७७ मतभार प्राप्त गरे । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

राप्रपाका रोमबहादुर भण्डारीले १०६ मत ल्याए । गठबन्धनको स्थानीय तहतर्फ एक जनाले मत क्रस गरेका छन् । यस्तै अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार निर्वाचित भएका छन् । उनले ३,७७४ मतभार प्राप्त गरे । उनले स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाको मत गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २,४५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा तीन मत बदर भएको छ ।

महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा निर्वाचित भएकी छन् । उनले ३,६६० मतभार पाएर पाँचौं प्रयासमा सांसद बनेकी हुन् । सहिदपत्नी शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभातर्फ ३५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २,५५३ मतभार पाएकी छन् । उनले स्थानीय तहतर्फ ७३ र प्रदेशतर्फ २२ जनाले मतदान गरेका छन् । स्थानीय तहतर्फ गठबन्धनका पाँच मतदाताले विपक्षीलाई मतदान गरे ।

स्थानीय तहमा एक भोट र प्रदेशतर्फ पनि एक भोट बदर भएको छ । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन् । प्रदेश सभाका दुई सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । बिहान ९ देखि ३ बजेसम्म भएको मतदानमा २२९ जनाले मतदान गरेका हुन् । कुल २३० मतदातामध्ये बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भए । उनी इमेज सहकारी ठगी अभियोगमा फरार छन् ।

 
 
  
 

You may also like