भारतमा एकै दिन दुई लाखमा कोरोना संक्रमित

नयाँदिल्ली। भारतमा कोरोना भाइरस संक्रमणको भयावह रुप देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न शहरमा लकडाउन र कर्फ्यु लगाइएको छ ।

गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही शहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ । एजेन्सी

 
 
  
 

You may also like