भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ ।

भेरी अस्पताल व्यवस्थापन समितिले बुधबार अस्पतालमा आयोजना गरेको सर्बपक्षिय बैठकमा सो जानकारी गराउदै अस्पतालमा गत आइतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेको जानकारी दिएको छ । अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ भएको जनाएको छ ।

भेरी अस्पताल विकास समितिले आयोजना गरेको सो सर्वपक्षिय बैठकमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र तीमध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको बताए ।

उनले भने ‘ पछिल्लो अवस्था भयावह हुँदै आएको छ । संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । पहिलाको जस्तो अवस्था छैन सबै लक्षणसहितको र अक्सिजन सहितको बेडमा राख्नुपर्ने बाध्यता आई परेको छ ।’ उनले अस्पतालमा उपचारको लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्दा आफूहरु र स्वास्थ्यकर्मी नै सुरक्षित नहुने अवस्था आईसकेको गुनासो गरे ।
भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भर्ना भएका विरामीलाई दैनिक करिव २ लाखको अक्सिजन मात्र आवश्यक पर्ने तर विस्तारै सो अक्सिजन समेत सर्टेज हुने अवस्थामा पुग्ने भएकोले सो समस्याबाट जोगिन सर्वपक्षिय बैठक आयोजना गरिएको उनले स्पट पारे ।

भेरी अस्पतालमा कोभिड–१९ को बिरामीका लागि लक्षित गरी निर्माण गरिएका १ सय ७ बेड छन् । १६ वटा भेन्टिलेटर मध्ये बुधबारसम्म ६ वटा भेन्टिलेटरमा विरामी भएपनि जनशक्ति अभावको कारण सबै बेड र भेन्टीलेटर सञ्चालनमा ल्याउन कठिन भएको अध्यक्ष धितालको भनाई थियो ।

भेरी अस्पतालका निमित्त मेसु डा खगेन्द्रजंग शाहीले अस्पतालमा बढ्दो कोरोना संक्रमितको चाप र आवश्यक अनुसारको जनशक्ति नभएको कारण आफुहरुलाई सेवा प्रवाहमा विभिन्न खालको अवरोध आउने गरेको बताए । उनले भने–‘यथा स्थितिमा अब थप कोभिड संक्रमित केस अस्पतालले भर्ना लिनसक्ने अवस्था छैन ।’ राजधानी दैनिकबाट

 
 
  
 

You may also like