शैलेन्द्र अधिकारीको उपन्यास कृति ‘निर्वेद’ सार्वजनिक

by समतल अनलाइन

काठमाडौं । शिक्षण, गजललेखन र समालोचनामा सक्रिय शैलेन्द्र अधिकारीको नवीनतम उपन्यास कृति ‘निर्वेद’ सार्वजनिक भएको छ ।

युवा जोगीको कथामा आधारित उक्त कृतिको शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उपप्राध्यापक सुदीप पोख्रेल, साहित्यकार रूपक अलङ्कारले सार्वजनिक गर्नुभयो ।

कृतिमा संरचनात्मक र प्रयोगले नयाँपनको खोजी गरिएको र पूर्वीय दर्शनका विविध पक्ष प्रयोग गरिएको टिप्पणीकर्ता रूपक अलङ्कारले बताउनुभयो ।

लेखकको कृति र व्यक्तित्वमाथि अलङ्कारले प्रकाश पार्नुभएको थियो । उहाँले उपन्यास दार्शनिक हिसाबले उत्कृष्ट रहेको बताउनुभयो । ‘मान्छेहरूले बिर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको छ । दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तुत गर्नुभएको छ’, साहित्यकार अलङ्कारले भन्नुभयो, ‘प्रगतिशील विचार धारा आस्था राख्ने लेखकले आस्तिक रूपमा पूर्व जन्म र परोजन्मको विषय उठान गर्नु आफैँमा सुन्दर विषय हो।’

उपप्राध्यापक पोख्रेलले निर्वेदमा एउटा युवकले आफ्नो बाल्यकाल वा विगतमा आफूले भोगेका अनुभवहरू सम्झेर वैराग्य महसुस गरेका प्रसंग सुन्दर रहेको बताउनुभयो । कृतिमा प्रेमको उत्कर्ष र त्यसको स्वरूप प्रस्तुत भएको उहाँको भनाइ थियो ।

‘हर्मन हेस्सेले सिद्धार्थमा बुद्ध दर्शनलाई पृथक तरिकाले हेर्ने दृष्टिकोण राखेका छन् । निर्वेदका लेखकले पुर्वीय दर्शनको आडमा पश्चिमा विसंगतिवादलाई एकै ठाउँमा मिसाएर उपन्यास लेखेका छन् । यो विराट विषयलाई रोचक ढङ्गले उपन्यासमा प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो ।

लेखक शैलेन्द्रले आफूले उठाएको विषयवस्तु नवीन र फरक रहेको दाबी गर्नुभयो । ‘मैले उठाएको विषय अरू कसैले नलेखेको भएकाले जोखिम उठाएको हुँ’, अधिकारीको भनाइ थियो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्ष सचिव प्रा. ‘प्रेक्षित’ले कृतिले नेपाली साहित्यमा पृथक यात्रा गर्नेमा आफू ढुक्क रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली साहित्यको उनन्यन र प्रवर्द्धनमा निर्वेद जस्ता उपन्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो ।

शिखा बुक्सले प्रकाशन गरेको निर्वेदको मूल्य ३५० रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like