मुलुकभर होलीको रौनक कम : उपत्यकामा कडा सुरक्षा

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खुसीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ ।

गत साल ठाउँ–ठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकआपसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।

काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताए । ‘केही साना समूह देखिएका छन्, ठूलो भिडभाड हुन नदिन प्रहरीले निरुत्साहित गरिरहेको छ’, कुँवरले भने, ‘विगतका वर्षमा भन्दा निक्कै कम देखिएको छ ।’

विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृश्य र तस्विरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देश समेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।

पश्चिम नेपाल घर भई काठमाडौँ बस्दै आएका पदमराज जोशीले आफ्नै घरपरिवारका साथ होली मनाएको बताए । ‘कोभिड–१९ को जोखिम बढेको छ, समूहमा होली नखेल्न सरकारले अनुरोध गरेको छ, त्यसैले घर परिवारमै गीतसङ्गीतका साथ होली मनाएका हौं’, जोशीले भने ।

यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । दिन भड्किँदै जाँदा अझै जमात बढ्ने अनुमान गरिएको छ ।

सरकारले घर–घरमै बसेर स्वास्थ्य मापदण्ड अपनाइ होली खेल्न यसअघि नै अनुरोध गरिसकेको छ । लापरवाही गरे वा स्वास्थ्य मापदण्डको पालना नगरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनीबीच युवाले सडकमा निस्किएर होली मनाएका छन् ।

सडकमा निस्किएका उनीहरुमध्ये धेरैले मास्क प्रयोग गरेका थिएनन् भने सामाजिक दूरीसमेत कायम गरेको पाइएन । नाम नबताउने शर्तमा होली खेल्दै गरेका एक युवाले आफ्नै साथीसङ्गीबीच होली खेलिएकाले मास्क नलगाएको बताए ।

आज मुलुकको पहाडी जिल्लामा होली मनाइँदै छ । सोमबार तराईका जिल्लामा होली मनाइन्छ । चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ । यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिडिखेलमा लगी जलाइने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ ।

अर्को परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।

उपत्यकामा कडा सुरक्षा

होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।

ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ‘आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ’, भट्टराईले भने, ‘सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।’

महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ः०० बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङ्ग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने कूल १५२ सवारीका चालकलाई कारवाही गरिएको छ ।

मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी, सवारी चलाउने, दुर्घटना गराउने सक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारीसाधन कारवाहीमा परेका छन् । महाशाखाका प्रमुख भट्टराईका अनुसार आज उपत्यकाका ७६ ठाउँमा ९०० ट्राफिक प्रहरी परिचालन गरी सवारी जाँच भइरहेको छ । रासस

 

 
 
  
 

You may also like