‘रेशम चौधरीको रिहाइ र संविधान संशोधन मुद्दालाई सत्ता–स्वार्थको साधन नबनाइयोस्’

काठमाडौं। सरकार र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच सत्ता सहकार्यका लागि भएको छलफल निष्कर्षतिर पुगिरहेको चर्चा चलिरहेका बेला सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने आपति जनाएका छन् ।

डा. भट्टराईले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःशर्त र तुरुन्त रिहाइ गर्न सरकारलाई माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने शर्त राखिरहेका बेला त्यस पार्टीका शीर्ष नेता डा. भट्टराईले आफ्ना मुद्दालाई सत्ता–स्वार्थका निम्ति मोलतोलको साधन नबनाउन चेतावनी दिएका हुन् ।

थारूलगायत उत्पीडितको पहिचान र अधिकारसहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ । ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरुन्त र निःशर्त गर । थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन गर,’ आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो । यो क्षणिक सत्ता–स्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’

केपी ओली नेतृत्वको सरकारमा जाने–नजाने विषयमा जसकाका नेताहरुमा दुई धार देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका तीन नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने परिषद अध्यक्ष डा. भट्टराई र उपेन्द्र यादव ओली प्रतिगामी भएका कारण सरकारमा जान नहुने अडानमा छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भङ्ग गरेका बेला जसपा सडक आन्दोलनमै उत्रिएको पार्टी भएका कारण पनि अहिले सरकारमा जान उपयुक्त नभएको भट्टराई र यादवको भनाइ छ । डा. भट्टराईले आज सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति पनि सरकारमा जाने तयार आफ्नै पार्टीका नेताहरुतर्फ इङ्गित देखिएको छ ।

 

 
 
  
 

You may also like