काठमाडौं। म्यानमारमा कार्यरत बीबीसी संवाददाता बेपत्ता भएका छन् । बेलायती समाचार संस्था बीबीसीले आफ्ना समाचारदाता अउङ थुरालाई शुक्रबार केही अपरिचित व्यक्तिले नियन्त्रणमा लिएर बेपत्ता पारेको जानकारी दिएको हो ।
ट्वीटरबाट समेत जानकारी दिँदै बीबीसीले चिन्ता प्रकट गरेको छ । म्यानमारको राजधानीबाट उनलाई बेपत्ता पारिएको बीबीसीले जनाएको छ । उनको खोजी भइरहेको समाचारमा उल्लेख छ । साथै आफ्ना संवाददाता थुराको उद्धारमा सहयोग गरिदिन सरोकारवाला सबैलाई बीबीसीले आग्रह गरेको छ ।
उनीसँगै स्थानीय पत्रकार थान हटिक अउङलाई पनि बेपत्ता बनाइएको छ। शुक्रबार दिउँसोसम्म दुवै पत्रकारको अवस्था अज्ञात छ । यसैबीच बीबीसीकै नेपाली पत्रकार दीपक भट्टराईले म्यान्मारमा बस्न नसक्ने अवस्था भएपछि नेपाल फर्किएको बताएका छन् ।
गत फेब्रुअरी १ देखि म्यान्मारमा सेनाले सत्ता कब्जा गरी नेत्री आङ सान सुचीसहित लोकतान्त्रिक नेताहरूलाई नजरबन्दमा राखेको छ । जसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन भइरहेको छ । त्यस क्रममा सुरक्षाकर्मीको दमनबाट सय जनाभन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ । कैयौं घाइते भएका छन् । एजेन्सी