चितवन ।युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढ्नुभएको छ ।
बुबा नारायणप्रसाद गौतमले विसं २०२७ मा शुरु गर्नुभएको किराना व्यवसायबाट विस्तार हुँदै चामल मिल, अबिर केशरी, पिताम्बरी, प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ । अहिले किरानाबाहेक सबै व्यवसाय फस्टाउँदै अगाडि बढेको छ । यी व्यवसायलाई छोरा गौतमले साथ दिँदै आउनुभएको छ ।
चितवनका युवा व्यवसायी गौतम भन्नुहुन्छ, “मैले सानै उमेरदेखि बुबालाई साथ दिएर अहिले पनि व्यवसाय विस्तारमा लागिपरेको छु ।” उहाँले बाबुले शुरुआत गरेका कारण आफूलाई व्यवसायलाई अगाडि बढाउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुवात बुबाले गर्नुभयो, त्यसलाई थप विस्तार गर्न मलाई सहज भयो ।” बुबाको भन्दा फरक व्यवसाय गर्नुपरेको भए असहज र बुझ्न नै लामो समय लाग्ने हुँदा यति छिटो सफलता मिल्न गाह्रो हुने उहाँको भनाइ छ । कुनै बेला नारायणगढमा मात्रै सीमित हुने उहाँहरुको उत्पादन चामल, अबिर, केशरी, पिताम्बरी, प्राङ्गारिक मल अहिले देशभरि बिक्री वितरण हुने गरेको छ ।
विसं २०४३ सालमा नारायणगढ बजारमा खाजा घरका रूपमा स्थापना भएको वैष्णव मिष्ठान्न भण्डार अहिले चार ठाउँमा विस्तार भइसकेको छ । विष्णुप्रसाद सापकोटाले शुरु गर्नुभएको यो व्यवसाय अहिले छोरा कृष्णप्रसाद सापकोटाले विस्तार गर्दै लैजानुभएको छ । गत पाँच वर्ष यतादेखि छोरा कृष्ण यो व्यवसाय विस्तारमा लाग्नुभएको हो । बुबाले थोरै समय दिने भए पनि अहिले कृष्णले नै यसको मुख्य जिम्मेवारी लिएर व्यवसाय गरिरहनुभएको छ ।
उहाँले मुख्य जिम्मेवारी सम्हालेसँगै नारायणगढमा मात्रै केन्द्रित भएको मिष्ठान्न भण्डार भरतपुर, टाँडी, वीरेन्द्र क्याम्पस गेटमा पनि विस्तार भएको छ । शाकाहारी भोजनालय र मिठाईका लागि ख्याति कमाएको वैष्णवले अहिले प्याकिङ मिठाई उत्पादन शुरु गरेको छ । नमकिन, सोनपापडी, रसवरी, लालमोहनजस्ता मिठाई उत्पादन गरी देशका प्रमुख शहरसम्म पुर्याइएको छ । कृष्णले भन्नुभयो “अहिले हामीले मिठाईलाई देशैभरि पुग्ने गरी उत्पादन र वितरण गर्दै आएका छौँ ।” बाबुको मिहिनेतसँगै स्थापना भएको वैष्णव ब्राण्डलाई कृष्ण देशव्यापी बनाउन सफल हुनु भएको छ । बुबाकै कारण आफूलाई व्यवसाय विस्तारमा सहज भएको उहाँको भनाइ छ ।
विसं २०३६ मा नारायणगढको शहीदचोकमा बिजुली पसलबाट व्यवसाय शुरु गर्नुभएका ऋषिप्रसाद लामिछानेको उक्त व्यवसाय अहिले छोरा अशोकप्रसाद लामिछानेले सम्हाल्दै आउनुभएको छ । आफूले १३ वर्षको उमेरदेखि व्यवसायमा साथ दिएको भन्दै अशोकले विसं २०५५ यता नेतृत्व गरेर बाबुको पेशा सम्हालेको बताउनुभयो ।
लामिछाने विद्युत् सप्लायर्सका नामबाट शुरु भएको व्यवसायकै आम्दानीबाट छोरा अशोकले साझेदारीमा विभिन्न उद्योग व्यवसायमा लगानीसमेत गर्नुभएको छ । आशिर्वाद समूहका पार्ट्स, पोलिस्याक्स, प्लाष्टोसँगै स्वास्थ्य, शिक्षा र सञ्चारमा समेत उहाँको लगानी छ । उहाँले भन्नुभयो, “सबै क्षेत्रको लगानीमा बिजुली पसलको योगदान छ ।” बाबुले शुरु गरेको पेशाकै कारण सफलता हासिल गर्न सहज भएको उहाँको भनाइ छ । लामिछानेले लगानी गरेका उद्योगको उत्पादन अहिले देशभरि पुग्ने गरेको छ ।
चितवनमा ख्याति कमाएको कर्मा रेष्टुराँको सञ्जाल विस्तार भइरहेको छ । बाबु दुर्गादत्त अधिकारीले नारायणगढमा शुरु गरेको व्यवसाय छोरा अमित र अविनाशले विस्तार गरिरहनुभएको छ । अहिले काठमाडौँको चाबहिल र सोह्रखुट्टेमा शाखा विस्तार भएको छ । केही दिनभित्रै भरतपुरमा अर्काे शाखा खुल्दैछ भने बुटवल र पोखरामा विस्तार गर्ने तयारी गरिएको छ ।
सौराहामा होटल व्यवसाय गर्दै आउनुभएका सुमन घिमिरे बाबु हरिक्तभक्त घिमिरेले शुरु गर्नुभएको व्यवसायलाई विस्तार गरेर अगाडि बढ्नुभएको हो । उहाँले भन्नुभयो, “बुबाले शुरु गर्नुभएका कारण आफूले धेरै मिहिनेत गर्नुपरेन ।” युवा पुस्ताले व्यवसाय सम्हालेसँगै अन्तर्राष्ट्रियरूपमा परिचित हुने गरी बजारीकरणसँगै होटलको गुणस्तरमा समेत सुधार गर्न सफलता मिलेको छ । जङ्गल सफारी लजको नाममा सञ्चालित होटल अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ बन्ने गरेको छ । उहाँले भन्नुभयो, “सेवाग्राहीको चाहनाअनुसार गुणस्तर र सेवामा विविधता दिएसँगै सफलता मिलेको छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सबैले बाबुबाजेको पेशा नअँगालेको भए पनि केहीले भने चार पाँच पुस्तासम्म पेशा अङ्गाल्दै आएको बताउनुभयो । कतिपयले पेशा परिवर्तन गरेको भन्दै आफ्नो पुर्खाले गरेको पेशालाई समयसापेक्ष परिष्कृत गर्दै अँगाल्नेलाई सफलता मिलेको उहाँको भनाइ छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल बाबुले गर्दै आएको व्यवसाय छोराहरुले सम्हाल्दै आएको बताउनुहुन्छ । बाबुको पेशालाई छोराछोरीले सम्हाल्न सकेमा नोक्सान नहुने भन्दै उहाँले छोराछोरीलाई पनि सहजै सफलता हासिल गर्न सहयोगी हुने धारणा राख्नुभयो ।नारायण अधिकारी,रासस