नौं महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचक सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८०÷८१ को नौ महिनाको तथ्याङ्क अनुसार विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ४२२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ रहेको छ । राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२.६४, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक बिन्दुगत मूल्यसूचकांक १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । यस्तै, यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ ।

 
 
  
 

You may also like