बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तनहु उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ । गएको जेठ २९ गते संस्थागत भ्रमणमा निस्किएको तनहु उद्योग वाणिज्य संघको टोलीले पश्चिम क्षेत्रका उद्योग वाणिज्य संघहरुको भ्रमण गरी शुक्रबार बुटवल आईपुगेको हो ।
तनहुको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थागत मात्रै नभएर बुटवल र तनहु बिच व्यवसायिक सम्बन्ध पनि रहेको बताउनु भयो । उहाँले २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले पेशागत हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी गराउनु भयो । उहाँले बुटवल उद्योग वाणिज्य संघ र तनहु उद्योग वाणिज्य संघ विच भोलीका दिनमा पनि विश्वासीय सहकार्य भईनै रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै तनहु उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले उद्योग व्यापार व्यवसाय पलायन हुँदै गईरहेको अवस्थामा व्यवसायीमैत्री वतावरण कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले अरु उद्योग वाणिज्य संघहरुको सिकाई र अनुभव साटासाट गर्नको लागि भ्रमणमा निस्किएको बताउनु भयो । उहाँले २०२३ सालमा स्थापना भएको तनहु उद्योग वाणिज्य संघ र बुटवल उद्योेग वाणिज्य संघ बिच पुराना आत्मियता रहेको र बुटवलबाटै सिकेर तनहुँमा मेला महोत्सव समेत सञ्चालन गर्न सुरु गरिएको बताउनु भयो । उहाँले देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरु बिचमा एकरुपता आवश्यक देखिएको बताउँदै त्यसको लागि पहल गर्न महासंघलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले औद्योगिक तथा व्यवसायिक समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघकै पहलका कारण बैंक तथा वित्तिय संस्थाहरुले लिँदै आएको व्याजदरमा गिरावट आएको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघको संस्थागत तथा वैधानिक व्यवस्थाहरुको बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्तिप्रसाद न्यौपाने सहित तनहु र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी सदस्यहरुले दुबै संघका बारेमा जानकारी आदानप्रदान गर्नुभएको थियो ।