सरकार ढाल्न अब कांग्रेसले ढुलमुल गर्नु हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्योलमा परिरहेको देशलाई कांग्रेसले दिशा दिनुपर्ने बताएका छन् ।

प्रेस युनियन कास्कीले आज (मंगलबार) पोखरामा आयोजना गरेको पूर्णप्रसाद–मायादेवी शान्ति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता पौडेलले अराजकताको अन्त्य गर्न पार्टी अनिर्णय र ढुलमुलको अवस्थामा रहन नहुने बताए । उनले अहिलेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी रहेको पनि बताए ।

‘ओलीले जसपाका नेतालाई जे–जे आश्वासन दिनु भएको छ, त्यो हामीले पनि दिने सहमति गरौं, माओवादीलाई पनि साथ लिऔं र यो सरकार ढलाई दिऊँ भनेर अनुरोध गरेर निस्किएको थिएँ,’ उनले भने, ‘तर अझै कुनै निर्णय भएको छैन । जसपाले कांग्रेसले ठोस निर्णय लिँदैन भनिरहेको छ । यस्तो स्थितिमा पार्टी र राजनीति उल्टो दिशातिर जान्छ ।’ प्रदेश–१ र वाग्मतीमा प्रदेश सरकार ढलाउने विषयमा पनि कांग्रेसले ढुलमुले नीति लिएको उनको भनाइ थियो ।

अहिले मुलुकमा राष्ट्रिय–अन्तर्राष्ट्रिय थरीथरीका खेलाडीले खेलिरहेको बताउँदै उनले यो खेल अरूको हातमा जान नदिन कांग्रेसले नेतृत्व गर्नुपर्ने तर्क गरे । ‘मेरो हातमा निर्णायक शक्ति छैन । म संसदीय दलको नेता र पार्टी सभापति पनि होइन,’ उनले भने, ‘मैले यो कुरा देउवाजीलाई राख्छु । अहिलेको राजनीतिलाई दिशा दिने काम कांग्रेसले गर्नुपर्छ ।’ प्रेस युनियन कास्कीले २५ हजार रूपैयाँ राशिको उक्त पुरस्कार पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरेको छ ।

 
 
  
 

You may also like