भागरथीकाे हत्या आरोपी दिनेश भट्ट प्रहारीद्वारा सार्वजनिक

by समतल अनलाइन

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने । १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १६ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।
बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

 

 
 
  
 

You may also like