नेकपा विवाद थाँती राखेर कुनै पनि हालतमा निर्वाचन हुँदैन : जनार्दन शर्मा

by समतल अनलाइन

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाको आधिकारिता विवादलाई थाँती राखेर कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।

आज (मंगलबार) प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले बैसाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन हुन नसक्ने दाबी गरे ।

यस्तो अवस्थामा जब्बरजस्त निर्वाचन गर्न खोजिए त्यसको हिसाब–किताब जनताले गर्ने उनको भनाइ थियो । शर्माले नेकपाभित्रको विवाद पार्टी विशेषको नभई संघीयता, धर्मरिपेक्षता, समानुपातिक समावेशीताको कार्यान्वयन गर्ने वा नगर्ने विषयको लडाइँ भएको बताए । संविधानको धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह भएको उनको भनाइ छ ।

देशलाई अस्थिरतातिर धकेल्न केही तत्वहरु सक्रिय भएकाले देशको स्वाधिनता, स्वाभिमान रक्षा गर्नु ठूलो चुनौती भएकाले सबैलाई सक्रिय भएर लाग्न उनले आग्रह गरेका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले पछिल्नो समयमा पार्टीको भन्दा देशको चिन्ता भएको भन्दै प्रतिनिधिसभा पुनः स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीको ज्यादती कुनै हालतमा सह्य नहुने र ज्यादती अन्त्यका लागि आन्दोलन चकाइरहने उनको चेतावनी थियो ।

 

 
 
  
 

You may also like