‘दाहाल–नेपाल’ समूहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो

by समतल अनलाइन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

नेकपा ‘दाहाल–नेपाल’ समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ।

यसैगरी बै ठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह-संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको थियो ।

पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।

 
 
  
 

You may also like